विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा चारसय ६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ गरेको नियमित मिडिया ब्रिफमा एकसय पाँच जना महिला र तीनसय ५८ जना पुरुष गरि ४६३ जना नयाँ संक्रमित थपिएको जानकारी दिइयो ।
आइतबार थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार सातसय ७२ पुगेको छ । जसमध्ये एकहजार चारसय ७४ जना महिला र ११ हजार दुईसय ९८ जना पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मुलुकका २० वटा प्रयोगशालामा चारहजार नौसय ६२ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको बताए ।
मन्त्रालयका अनुसार मोरङमा एक, इलाममा एक, सुनसरीमा एक, झापामा दुई र उदयपुरमा चारजना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म तीनहजार १३ जना संक्रमित निको भएर घर फर्केका छन् भने कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ ।