News flash

प्रल्हाद गुरागाई

आइतबार, आषाढ १४, २०७७

विराटनगर । शनिबार भएपनि इटहरीको चहलपहलमा कुनै कमि थिएन् । प्राय सधै बिहिबार बन्द हुने गर्छ, इटहरी । त्यहि कारणले होला शनिबार इटहरीको चमक भिन्नै थियो । इटहरीलाई फेरि ब्यस्तताले छुन थालेको आभाष हुन्थ्यो । ब्यस्त शहर इटहरीका सडकहरु पनि निक्कै ब्यस्त थिए ।
इटहरी चोकदेखि पूर्व टेङ्ग्रा खोला पार गर्दै पूर्व पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर उत्तर लागेपछि तालतलैया नपुग्दै सडक पूर्वको रातोबंङ्ला अघि म टक्क अडिए । ‘इटहरी मेट्रिक्स’ मेरो गन्तब्य थियो अनि भेट्नुपर्ने पात्र थिए विक्रम श्रि । म पहिलोपल्ट त्यहाँ पुगेको थिए । गन्तब्यको एकिन गर्न मैले विक्रम श्रिलाई मोवाइलबाट सम्पर्क गरे । संवादमा उनले भने, ‘आहा ठीक ठाँउ आइपुग्नु भयो । अलि तल ओरालो झर्नु न, म यहि छु ।’
धेरै बर्षपछि विक्रम श्रिलाई भेट्ने मौका मिलेको थियो, त्यतिबेला उनी अर्कै थिए । आफ्नै घरको आश्रममा उनी आफ्नो संघर्षका दिनहरु काट्न ब्यस्त थिए,त्यो बेला । कला क्षेत्रमा लागेकै कारण उनको घर जग्गा बैङ्कले लिलामीमा निकालेको थियो । त्यो बेलाका नेपाल वान टेलिभिजनका पत्रकार शभ्भु भण्डारी र म उनलाई भेट्न इटहरी नै पुगेका थियौ । मलाई लाग्छ यो करिब १५ बर्ष अघिको कुरा हुनुपर्छ ।
तर शनिबार विक्रम श्रिलाई भेट्दा निक्कै फरक लाग्यो । निक्कै जोश र जाँगर देखे मैले उनीमा । फोनमा धेरै पटक संवाद भएको थियो । भेट्न मात्र साइत जुरेको थिएन । विवाह पनि गरिसकेका रहेछन् । पत्नीसँगै उनी केही सहयोगीसँगै काम मै ब्यस्त थिए । ‘धेरै दिन भयो सरसफाई नगरेको । पहिला यो सफाईको काम सक्छु । अनि बसेर कुरा गरौला है ।’ उनले केही बेर पर्खन आग्रह गरे ।
बिक्रम श्रिले इटहरीलाई कहिल्यै माया मर्न सकेनन् । शायद इटहरीबासीको मायाले पनि होला, उनले आफ्नो कर्मभूमि इटहरीलाई नै बनाए । उनले आफ्नो कर्मको उपहार कहिले काब्यबाटिका पस्किए त, कहिले इटहरीलाई सजाउनमा सर्मपित गरे । करिब १० बर्ष अघि बुढीखोलाको बगरलाई सजाउने सपना बोकेका उनले त्यहि ‘इटहरी मेट्रिक्स’ को अवधारणा ल्याए । यहाँ पनि उनलाई इटहरीलाई झुन्ड्याउन भुलेनन् ।
पर्खाइ लम्बिदो थियो । मैले ‘इटहरी मेट्रिक्स’ परिसरका बगैचा र वन नियाल्ने मौका पाए । दुई बिगाहा जमीनमा फैलिएको ‘इटहरी मेट्रिक्स’ को पूर्वी भागमा बुढीगंगा खोला सुसाएको आवाज माथि सम्मै सुनिन्थ्यो । रैथाने चराका गुँडहरुले रुखको शोभा बढाएको थियो । चराहरुको मिठो आवाजले अर्कै आनन्द दिन्थ्यो । मरिचका बोटहरु फस्टाएका थिए । मरिचका लहराहरुले उतिसलाई नाघ्न खोजिरहेको आभाष हुन्थ्यो । हलक्क बढेका चिउरी, बखडा, तिमल, सल्लो र लप्सीका बोट देख्दा माथि पाहाडमा उकाली चढेको अनुभूति मिल्थ्यो । गिनकोई, बकुल, म्यागो स्टिम, ज्याकफुट जस्ता बिदेशी बोटहरु मज्जाले सर्पिएका थिए । त्यो हरियालीमा आदिकवि भानुभक्तको सालिक मुस्कुराएको भान मिल्थ्यो । पारिजात, सहिद लखन थापा, धरणीधर दाहाल, पारिजात, संगीतकार अमर गुरुड मात्र होइन भगवान बुद्धको सालिकले शान्तिको सन्देशलाई तरंगित गरेको जस्तो लाग्थ्यो ।
अब चाहि विक्रम श्रिलाई कामबाट फुर्सद मिल्यो । उनले मसँग भलाकुसारी गर्ने मनसाय राखे । ‘इटहरी मेट्रिक्स’ कै एक कुनामा बसेर हाम्रो कुराकानी शुरु भयो । ‘तपाईलाई थाहा छ । कोइला खानीबाटै हिरा निस्कन्छ । त्यसैलाई ‘मेट्रिक्स’ भनिन्छ । यो स्थानपनि त्यही हो । हामी यहाँबाट हिरा निकाल्न लागेका छौ ।’ पहिलो जिज्ञासामा नै उनी भन्दै थिए, ‘यो एक गुरुकुल पनि हो । तर यो अध्ययन केन्द्र भने होइन । ध्यान गर्ने स्थान हो । यहाँ ध्यान केन्द्रीत भएर साधना गरिन्छ ।’
कोलाहल, भीड, ब्यस्तताको बीचमा ‘इटहरी मेट्रिक्स’ धेरै शान्त थियो । यान्त्रिक जीवनलाई सान्तवना दिन भिन्न पहिचानको स्वरुप थियो, ‘इटहरी मेट्रिक्स’ । ५० बर्षे जीवनका अनगिन्ती उकाली ओराली पार गरेका विक्रम श्रिले समाजलाई नै सर्मपित गर्न ‘इटहरी मेट्रिक्स’ को अभियानलाई शुरु गरेका थिए । ‘यो नीजि तवरले खोलिएको गुरुकुल हो । अध्ययनले यन्त्र बनेका मानवलाई बास्तविक साध्यलाई साधनामा केन्द्रीत गर्नु नै हाम्रो प्रयास हो ।’ विक्रम श्रिको भनाई थियो, ‘अझ केही बर्ष यसैमा लागेर यो संस्थालाई हामी ट्रस्टमा हस्तान्तरण गछौ ।’
रंगकर्मी हुँदै मूर्तिकारको पहिचान बनाएका उनको जीवनले घामछाँया बराबर भोगेको छ । धेरै दुःख र संघर्षले भरिएको विक्रम श्रिको जीवनमा अहिलेको सफलता त्यतिकै हासिल भएको होइन् । करिब १५ बर्ष पहिले इटहरीमा शुरु गरिएको काब्यवाटिकामा मूर्तिकलाको तालिम सञ्चालन गर्न उनले घरजग्गा बैंकमा धितो राखेर १५ लाख रुपैया निकाले । तर दुर्भाग्य उनले बैंकमा रकम तिर्न सकेनन् । बैंकले घरजग्गा लिलामी मात्र गरेनन् । त्यसबाहेक पनि १० लाख रुपैया तिर्नुपर्ने बाध्यता आयो । बृद्ध बुवाआमा र भाईहरु बस्ने छानो भएन् । रामकुमार सुब्बाले उपलब्ध गराएको जमीनमा बाँसले बनाएको घरमा परिवारका सदस्यलाई ओत लगाएर उदयपुर पुगेका विक्रम श्रिले त्यहाँ केही समय काम गरे । पर्यटन विकास र आर्किटेकको बिषयमा बिस्तारै हात हालेका उनले केही रकम जोहो गरेर बैंकको पैसा तिरे ।
‘ती दिनहरु धेरै पीडादायी थिए । धेरै तनाव बोक्नुपर्यो । भारतको कोलकत्ता पुगेर साथीहरुलाई पीडा साटे ।’ उनले अतितलाई सम्झिए, ‘पत्रकार राजकुमार कार्कीले सिक्किम सरकारसँग कुरा गरिदिनु भएछ । त्यहाँ काम पनि मिल्यो । तर मैले इटहरीलाई माया मर्न सकिन । मैले यहि बसेर संघर्ष गरे ।’
इटहरीलाई जसरी विक्र श्रिले माया मर्न सकेनन् । इटहरीबासीले पनि उनलाई त्यत्तिकै माया गरेका छन् । उनको आर्थिक अबस्था कमजोर भएर पलायन हुने खबर सार्वजनिक गरेपछि मनोजबाबु मिश्राको संयोजकत्वमा सहयोग समिति बन्यो । करिब २२ लाख रुपैया संकलन भएको थियो । तर उनले त्यो रकम लिएनन् बरु त्यो रकम कलाकार कल्याण कोषको नाममा जम्मा भयो ।
उनी विश्व शान्ति महासंघमा आबद्ध थिए । बिभिन्न कार्यक्रम र सेमिनारमा विदेशको यात्रा पनि हुन्थ्यो । अविवाहित विक्रम श्रिले विवाहको योजना बनाएका थिएनन् । तरपनि संयोग मान्नुपर्छ उनको फिलिपिनो युवतीसँग विवाहको साइत जुर्यो ।
महासंघ कै कार्यक्रमका लागि उनी कोरिया पुगेका थिए । वर्ग, समूदाय, जाति, धर्म, संस्कृति र परम्परा भन्दा माथि उठेर शान्तिको सन्देश फैलाउने प्रकारको विवाहको कल्पना गरिएको थियो । त्यो कल्पना विक्रम श्रिको थिएन, उनको संस्था विश्व शान्ति महासंघको थियो । विवाहका लागि योग्य वरबधुको तस्वीरहरु साटासाट भयो । यो सन् २०१२ को कुरा हो । उनले पनि विवाह हुने केटीको तस्वीर हेरे ।
‘मेरा लागि तीनजना केटी विवाहका लागि तयार थिए । पहिलो फिलिपिन्स, दोश्रो भियतनाम र तेश्रो कोरियाको । तर मैले पहिलोलाई नै रोजे ।’ बैवाहिक जीवनको कहानी सुनाउँदै उनले भने, ‘सुल्तान कुदरतको मुस्लिम दरबारमा हिन्दुको छोरा, क्याथलिकको छोरीबीच अन्तरधार्मिक विवाह भयो ।’
यो उनका लागि जीवनको अर्को महत्वपूर्ण पाटो थियो । उनका बुवाआमाले पनि बुहारीको फोटो हेरेर विवाहका लागि मन्जुरी दिएका थिए । तर उनीहरु भने बैवाहिक कार्यक्रममा सहभागी हुन सकेनन् ।
अहिले विक्रम श्रि पूर्व क्षेत्रका बिभिन्न स्थानहरुको पर्यटन प्रर्वधन गर्ने कार्यमा सक्रिय भएर लागेका छन् । बिभिन्न राष्ट्रिय गौरवका आयोजनाको संम्भायता अध्ययनदेखि लिएर त्यसको आर्किटेकको काममा उनको सक्रियता छ । संखुवासभाको खाँदवारीमा पर्यटकीय क्षेत्रको गुरुयोजना, वराहपोखरी खोटाङको योजनादेखि उदयपुरको लिङचुम्बुङ, झापाको गौरादह, सुनसरीको अमाह सीमसार र विराटनगरको प्रधानमन्त्री पार्क उनले सम्पन्न गरेका महत्वपूर्ण योजना हुन ।
उन एक्ला छैनन्, केही जुझारु युवाले उनलाई साथ दिएका छन् । पत्नी त जतिबेला पनि उनको सहयोगमा जुटेकी हुन्छिन् । मुर्तिकला, नाट्यक्षेत्रसँगै पर्यटनक्षेत्र र ‘इटहरी मेट्रिक्स’ विक्रम श्रिका दिनचर्या हुन । शनिबारपनि केही सहयोगका साथ सभाहलमा मुर्ति सजाउन ब्यस्त उनलाई आइतबारको चिन्ता पनि धेरै थियो । शनिबार ‘इटहरी मेट्रिक्स’मा सरसफाईको काम सकिएको थिएन् । साँझ छिप्पन लागेको थियो । एकजना सहयोगी घर जान अनुमति माग्दै थिए र आइतबारको कामको स्मरण गराउँदै विक्रम श्रि भन्दै थिए, ‘राजेश भोलिपनि आउँनु है, काम धेरै छ । फेरि पानी पार्यो भनेर नभन्नु नि ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल