विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सामाजिक सञ्जालको प्रयोगमा सक्रिय नै देखिन्छन् । बिभिन्न उत्सव, जात्रा, पर्वहरुमा शुभकामना ब्यक्त गर्दा मात्र होइन, राजनीतिक सन्देश दिन पनि उनले सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ । बिहिबार मुख्यमन्त्रीले आफ्नो ५० औ जन्मोत्सव मनाई रहँदा उनको दुई तस्वीर भने शुक्रबार दिनभर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिए । धेरैले उनले गरेको कार्यको प्रंशासा गर्नुभन्दा भने आलोचना नै बढी देखियो सामाजिक सञ्जालमा ।
धेरैले विचार गर्नुभएको होला, मुख्यमन्त्री राई आफ्नो पोशाकका बिषयमा निक्कै सचेत रहेका हुन्छन् । तपाई हामीले देखेका पनि छौ, उनीले हरेक दिन औपचारिक पोशाक दौरा सुरुवाल कै प्रयोग गरेका हुन्छन् । सधैभरि दौरा सुरुवाल नै लगाउन मन पराउने उनको त्यहि दौरा सुरुवाल र हातमा ‘गोल्बस’ लगाएर आँपको बिरुवा रोप्दै गरेको तस्वीरलाई धेरैले मजाकमा उडाए ।
असार ११ गते जन्मिएका मुख्यमन्त्री राईको संयोगले ठ्याक्कै बार पनि मिलेको रहेछ, बिहिबार । उनी सधै झै आफ्नो मन्त्रालय अन्तरगतदेखि दैनिक कार्य सम्पादन मै ब्यस्त भए । बिहिबारपनि प्रदेशसभाको बैठक चलेको थियो । बैठकमा सहभागी भए उनी सिधै दिउँसो करिब २ बजेतिर आफ्नो कार्यालय तर्फ हानिए । त्यहाँ केही आँपका बिरुवा रोप्ने प्रबन्ध मिलाइएको थियो । आफ्ना सहयोगीले तयार पारेको खाल्डोमा दौरा सुरुवाल मै सजिएका मुख्यमन्त्री राईले त्यहाँ आँपको बिरुवा रोपे । झरी परिरहेको थियो, जुत्तामा हिलो नलागोस् भनेर भुईमा प्लाटिकको बोरा ओछ्याईको थियो । मुख्यमन्त्रीलाई नभिजुन भनेर जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले छाता ओडाएका थिए । सामाजिक सञ्जाल प्रयोगकर्तालाई यही तस्वीर काफी बन्यो ।
यही तस्वीरलाई आफ्नो फेसबुकमा राख्दै मुख्यमन्त्री राईले जन्मदिनलाई उत्सबको रुपमा मनाउने चलन नरहेको प्रष्ट पारेका थिए । बिरुवा रोप्दै गरेको दुई तस्वीर पोष्ट गर्दै मुख्यमन्त्री राईले लेखेका थिए, ‘यसपटक बाट मैले नयाँ थालनी गरेको छु अर्थात प्रदेश सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेशलाई फलफुलको राजधानी बनाउने घोषणा यसपटकको आफ्नो नीति, कार्यक्रम र बजेटबाट गरेको परिप्रेक्ष्यमा मैले मेरो जन्मदिनको अवसर पारेर एउटा मिठो जातको आँपको बिरुवा रोपेर शुरुवात गरेको छु ।’
मुख्यमन्त्री राईको नीजि निवास विराटनगरमा छैन । उनी अहिले भाडाको घरमा बस्दै आएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बिरुवा रोप्दा सकारात्मक सन्देश मिलोस भन्ने मात्र रहेको बताए । ‘वहाँको निवास यहि भएको भए, त्यहि बिरुवा रोप्नु हुन्थ्यो होला । सरकारी कार्यालयमा नै विरुवा रोपेर सन्देश दिन खोजेको हो । समय र मौसमपनि त्यस्तै थियो ।’ सुवेदीले विराटपथसँग भने, ‘यो कुनै वनावटी नाटक थिएन र चर्चामा आउन खोजेर गरिएको थिएन तर फुर्सदिलाहरुले यसलाई त्यहि रुपले लिए ।’