सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
विराटनगर । नेपालको पूर्वी भाग हुँदै प्रवेश गरेको मनसुनका कारण पूर्व क्षेत्रमा केही दिनसम्म लगातार बर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंङ्गालको खाडी हुँदै प्रवेश गरेको न्यूनचापिय प्रभावको विकास ज्यादा भएको हुँदा नेपालमा अहिले पूर्ण रुपमा मनसुन सक्रिय भएको छ ।
मनसुयी बायुको प्रभाव रहनुका साथै मनसुन चापिय रेखा नेपाल नजिकै रहेका कारण प्रदेश १, प्रदेश २, प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कणाली प्रदेशमा बर्षा भइरहेको महाशाखाले जनाएको छ । मौसमविद् बिभूति पोखरेलका अनुसार पूर्व क्षेत्रमा ४ – ५ दिन बर्षाको संम्भावना रहेको छ । ‘अहिले मनसुन सक्रिय छ । पूर्वका पहाड र तराई क्षेत्रमा केही दिनसम्म बर्षा हुनसक्छ ।’ पोखरेलले विराटपथसँग भनिन्, ‘लगातार बर्षा नै भइराख्ने भन्ने छैन । केही बेर बर्षा हल्का रोकिए जस्तो हुन्छ । तर ४ – ५ दिन बर्षा भने हुन सक्छ ।’
पहाडी क्षेत्रमा समेत लगातार बर्षा भएका कारण ठूला नदीहरुमा बाढीको समेत सम्भावना रहेको छ । हिजो रातीबाट शुरु भएको निरन्तरको बर्षाले पूर्वका ठूला नदीहरुको पानीको वहावसमेत बढेको छ । ‘बर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा बाढीको जोखिम बढेको छ ।’ पोखरेलले भनिन् ‘यस्तो अबस्थामा सर्तकता अपनाउन हामी सबैलाई आग्रह गर्दछौ ।’ उनले केही दिन विराटनगरमा समेत नियमित बर्षा हुने जनाईन् ।
नेपालमा जेष्ठ ३० गतेबाट मनसुन सक्रिय भएको हो । सक्रिय मनसुन भदौ ११ गतेसम्म नेपालमा रहने मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।