विराटनगर । सोमबार अस्ट्रेलियाको सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा पक्राउ परेका दुई नेपालीलाई बुधबार जेल चलान गरिएको छ । उनीहरु विराटनगरका स्थायी बासिन्दा हुन । जेल चलान हुनेमा २२ बर्षिया नेहा गिरी र १९ बर्षिय आयुष भट्टराई रहेका छन् ।
स्थानीय समय अनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ परेका गिरी र भट्टराईउनीहरुलाई मंगलबार अदालत उपस्थित गराइएको थियो । प्रहरीले उनीहरुलाई पारामाट्टाको स्थानीय अदालतमा मजिस्ट्रेट रोबिन डेनेरको अगाडि उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयास स्वरुप कुनै आवेदन नगरेको बताइएको छ । उनीहरुको जमानत अदालतले पहिले नै खारेज गरिसकेको थियो । उनीहरुलाई अदालतले जेल पठाएको छ र अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइने बताइएको छ ।
८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं तह र आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको थियो । नेहा गत बर्ष मात्र अस्ट्रेलिया गएकी थिइन् । उनी आयुषका दिदीहरुसँगै बस्दै आएको बताइन्छ ।
यो बिषयलाई अस्ट्रेलियाका सञ्चारमाध्यम समेत प्रमुखताका साथ प्रकाशन र प्रसारण गरेका थिए । पीडितको उजुरीका आधारमा रंगेहात प्रहरीले पक्राउ गरेका कारण उनीहरुलाई सहजै जेलमुक्त हुन असजिलो रहेको त्यहाँका नेपालीहरुले जनाएका छन् । अस्ट्रेलिया अध्ययनका लागि हजारौ नेपाली रहेका छन् । केही भने त्यहाँ कामदारको रुपमा समेत रहेका छन् ।