पूर्वराजाले जन्मोत्सव नमनाउने, आफ्नो पद्धति र संस्कृतिमा फर्कन आग्रह
विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतिमा फर्कनका लागि आब्हान गरेका छन् । पूर्व राजा शाहले बुधबार एक सन्देश जारी गर्दै बदलिदो विश्व ब्यवस्थालाई बुझ्न समेत आग्रह गरेका छन् ।
असार महिनामा पर्ने आफ्नो जन्मदिन नमनाउने जनाउ दिन जारी गरिएको सन्देशमा भनिएको छ, ‘बदलिदो विश्व ब्यवस्थालाई बुझेर आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतिमा फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्बनको परपाठी फेरि कायम हुन्छ ।’
पूर्व राजा शाहले विश्वब्यापी कोरोना भाइरसको आक्रान्तबाट नेपालीले भोग्नु परेको गाँस, बाँस र कपास लगायतका समस्याको समाधान गर्न समेत आग्रह गरेका छन् । उनले यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक बिकृति एंव आर्थिक बेथितिप्रति चिन्ता समेत ब्यक्त गरेका छन् ।
उनले देशभक्ति, स्वाधिन स्थिति र स्वाभिमानप्रति बारम्बार उठिरहेको प्रश्नप्रति इंगिदै गर्दै सन्देशमा भनेका छन्, ‘ देशभक्ति, स्वाधिन स्थिति र स्वाभिमानप्रति बारम्बार किन प्रश्न, सन्देह र विवाद उत्पन्न हुन्छ । जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका बिषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरन्छ । रोगको संकट, राष्ट्रियताको संकट, सीमा समस्या र राष्ट्रहित बिरुद्धका सन्धी सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा कुरा किन दिनौ उठिरहन्छ ?’ पूर्व राजा शाहले यो कालखण्डमा आरोप प्रत्यारोप गरेर प्रतिशोधको भावना त्याग्न समेत आग्रह गरेका छन् । नेपालको एकीकरण, स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भएको भन्ने सबैलाई हेक्का भएको जनाउँदै उनले राष्ट्रियता र एकता नै हाम्रो शक्ति भएको उल्लेख गरेका छन् । यो बिषम स्थितिलाई ध्यानमा राखेर आफुले जन्मदिनको दिन जन्मोत्सब नमनाउने समेत पूर्वराजाले जानकारी दिएका छन् ।