विराटनगर । पछिल्लो २४ घन्टाको अवधिमा प्रदेश १ मा १३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार प्रदेश १ को झापामा ११, सुनसरीमा एक र मोरङमा एक जना नयाँ संक्रमित फेला परेका हुन । त्यसैगरि पछिल्लो २४ घण्टामा मुलुकभरमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङमा थप एकसय १० महिला र पाँचसय १९ पुरुषमा संक्रमण देखिएको जानकारी दिइएको हो ।
थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार सातसय २८ पुगेको छ । यस्तै २४ घन्टामा एकसय १४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म दुई हजार तीन सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबारसम्म पीसीआर विधिबाट छ हजार आठसय २८ र आरडीटी विधिबाट १२ हजार एकसय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या एकलाख ९३ हजार एकसय ९४ पुगेको छ ।