पूर्व प्रमीबिरुद्धआत्महत्या दुरुत्साहन मुद्धा दायर
विराटनगर । भनिन्छ, प्रेम सम्बन्धले मानिसलाई खुशी र आनन्द दिन्छ । मानिसहरु प्रेममा समर्पित भएपछि आफ्नो ज्यान समेत दिन पर्वाह गर्दैनन् । अझ नेपाली समाजमा मुनामदनको प्रेमकथा त निक्कै लोकप्रिय नै छ । तर सच्चा भावनाले सर्मपित प्रेमको आभाष हुन नसक्दा विराटनगरमा एक युवतीले कलिलो उमेरमा नै आत्महत्या गर्न बाध्य हुनु परेको छ । तीन बर्षसम्म माया गरेको पूर्व प्रेमी दिएको मानसिक तनाब र यातनाको शिकार बनेकी ती युवतीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका १० का २५ बर्षिय सविन पराजुली उच्च शिक्षा अध्ययनका लागि विराटनगरको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्वेता पोखरेलसँग भेट हुन्छ । उदयपुर बेलाहा नगरपालिका–२ निवासी २४ वर्षीया स्वेता पोखरेलपनि अध्ययनकै लागि विराटनगर झरेकी हुन्छिन् । एक अर्कामा परिचय र चिनजानकै क्रममा उनीहरु बीचमा प्रेम सम्बन्ध स्थापित हुन्छ । दुवैलाई चिन्ने साथीहरुका अनुसार उनीहरु तीन बर्षदेखि प्रेमसम्बन्धमा रहेका थिए ।
‘उनीहरु प्राय सधै सँगसँगै हुन्थे । होटल, रेष्टुरेन्टदेखि अन्य काममा समेत सँगै देखिन्थे ।’ नजिकका एक साथीले विराटपथसँग भने, ‘एक्कासी सुसाइटको कुरा सुनेपछि त म छक्क परे ।’ दुबै जना विराटनगर पोखरियाको सौय बचत तथा ऋण सहकारी संस्थामा काम गरेपनि केही समय पहिले सविनले सो संस्था छोडेका थिए । स्वेता भने सोही संस्थामा आबद्ध थिइन् ।
प्रेम सम्बन्धसँगै पश्चात विवाह बन्धनमा बाँधिने योजना दुबैले बनाएका थिए । सोही कारण स्वेताले सविनलाई पटक पटक विवाहका लागि आग्रह गरेकी थिइन् । उनीबीचको प्रेम सम्बन्धका बिषयमा स्वेताको परिवारलाई समेत जानकारी थियो । यसैकारण पनि स्वेता माथि विवाहको दवाव बिस्तारै बढेको थियो । तर स्वेताले पटक पटक गरेको विवाहको प्रस्तावलाई सविनले आलटाल गर्दै आएको थिए ।
विराटनगर ३ स्थित भट्टाचोकमा डेरामा बस्दै आएकी स्वेताको परिवारले अर्को केटा खोजेर विवाह गर्ने योजना बनाए । उनले परिवारले गरेको आग्रहलाई नर्कान सकिनन् । परिवार र उनको सहमतिमा विराटनगर ३ का संजीव सुवेदीसँग स्वेताको विवाहको पक्कापक्की हुन्छ । सो अनुरुप सोमबार इन्गेजमेन्ट र असार १४ गते विवाहको मिति तय भइसकेको थियो ।
स्वेता र संजीवको विवाहको तयारी थाहा पाएका सविनले सो विवाह भाँड्न योजना बनाउको प्रहरीको भनाई छ । सविनले आफ्नो मामाको छोरी (बहिनी) नाता पर्ने मार्फत बैवाहिक सम्बन्ध बाँधिन लागेका युवक संजीवलाई बिभिन्न तस्वीर र म्यासेज पठाई लगाउँछन् ।
आफु र सविनबीचको प्रेम सम्बन्ध विवाह हुन लागेको युवकले समेत थाहा पाएपछि बिक्षिप्त बनेकी स्वेताले आत्महत्याको बाटो रोज्नु परेको परिवारको दावी छ । पूर्वप्रेमीको मानसिक यातनाका कारण मर्न बाध्य भएको पीडित परिवारको उजुरीको आधारमा कानुनी प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका १० बाट पक्राउ परेका सविनबिरुद्ध मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ बमोजिम जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ । अदालतले थप सातदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।