विराटनगर । भारतबाट स्वदेश फर्कने नेपालीका लागि सीमा नाका खुल्ला गरेपछि २६ दिनको अवधिमा दुई हजार चारसय ७७ जना नेपाली स्वदेश फर्केका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २६ दिनको अवधिमा विराटनगरको रानी जोगबनी नाका हुँदै चारसय ७५ जना महिला र दुईहजार २५ जना पुरुष स्वदेश फर्केका हुन ।
कोरोना भाइरसको संक्रमण र नियन्त्रणका लागि बन्द गरिएको सीमा नाका स्वदेश फर्कनेका लागि जेष्ठ १३ गतेबाट खुल्ला गरिएको थियो । शनिबार मात्र सो नाका हुँदै २३ जना नेपाल फर्केका छन् । यद्धपि नेपाल फर्कने भन्दा भारततर्फ जानेहरुको संख्या बढी रहेको छ ।
प्रहरीका अनुसार नेपालबाट हालसम्म भारततर्फ जानेको संख्या तीनहजार सातसय ६९ रहेको छ । ती मध्ये नौसय ३७ महिला र दुईहजार नौसय ३० जना पुरुष आफ्नो देश फर्केका छन् । शनिबारपनि ९८ जना भारतीय नागरिक स्वदेश फर्केका छन् ।