

विराटनगर । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको विराटनगरको लर्डबुद्ध स्कुल र कलेजको स्वामित्व न्यूरो समूहले लिएको छ । यूनिभर्सल लर्डबुद्ध अन्तरगत १६ बर्षदेखि सञ्चालमा रहेको लर्डबुद्ध स्कुल र कलेजको ब्यवस्थापन अब न्यूरो समूहले गर्नेछ ।
विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल, मदर एण्ड चाइल्ड हस्पिटल, न्यूरो हेल्थ कलेज लगायतका अन्य स्वास्थ्य र शैक्षिक संस्था सञ्चालन गर्दै आएको न्यूरो समूहका अध्यक्ष डा.बीरेन्द्रकुमार बिष्टले लर्डबुद्धलाई नयाँ उचाईमा पुर्याउन आफुहरु लगनशिल भएर लाग्ने बताए । उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रको माध्यमबाट समाजमा थप योगदान पुर्याउन हरपल प्रयास रहने जनाए । शनिबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा लर्डबुद्धका अध्यक्ष नितिन चन्द्र गजुरेलले डा. बिष्टलाई स्वामित्व र जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष डा. विष्टको अध्यक्षतामा कार्यकारी निर्देशक अनिषा बिष्ट र प्रबन्ध निर्देशक राजेश भट्टराई रहने नयाँ सञ्चालक समिति गठन भएको जानकारी दिइयो । कार्यक्रममा बोल्दै कलेजका निवर्तमान अध्यक्ष गजुरेलले सबल व्यवस्थापकिय क्षमता रहेको डा. विष्टको टिमलाई शुभकामना दिएका थिए ।
कलेजका प्रबन्ध निर्देशक भट्टराईले कलेजको शिक्षा क्षेत्रमा लामो इतिहास रहको बताउँदै सोको गरिमा तथा साखलाई थप बढाउने बताए । सो कार्यक्रममा प्रबन्ध निर्देशक भट्टराईको नेतृत्वमा उच्च प्रविधि तथा आधुनिक भौतिक संरचना सहित कलेजको स्तरोन्नित गर्नका लागि अल्पकालिन तथा दिर्घकालिन योजना समेत तर्जुमा गरिएको जानकारी दिइयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका डा.विष्टको टिमलाई शिक्षा क्षेत्रमा पनि सफलताको शुभकामना दिए । सो कार्यक्रममा कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, न्युरो अस्पपतालका अस्पताल निर्देशक रंजितराज बस्नेत, डा.रितिक विष्ट लगायतको उपस्थिति रहेको थियो ।