विराटनगर । देशभर कोरोना भाइरसको संक्रमण र जोखिम बढिरहेको बेला पूर्वी नेपालको इलाममा भने संक्रमितको संख्या यथावत रहेको छ । स्वास्थ्य कार्यालय इलामका अनुसार केही दिन अघि भारतबाट स्वदेश फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले पूर्वाञ्चल विश्वबिद्यालयको गोठगाँउ अस्पतालमा उपचारका क्रममा छन् ।
‘सर्तकता जरुरी छ । इलामबासीले लकडाउनलाई पनि पूर्ण रुपमा पालना गरेका छन् । स्थानीय तह र स्वास्थ्यकर्मीको प्रयास पनि महत्वपूर्ण छ ।’ स्वास्थ्य कार्यालय, इलामका प्रमुख बृजकुमार दासले विराटपथसँग भने, ‘संक्रमित देखिएका इलामबासी हुन । यहाँ आएर कोरोना भएको होइन् । त्यसैले यो केस यहाँको होइन । संक्रमित देखिएकालाई पनि हामीले कम्युनिटीमा प्रवेश गर्न दिएनौ । यो कारण हामी सुरक्षित छौ । लकडाउन प्रभावकारी भयो ।’ भारतको चेन्नाई र सिलगुडीबाट स्वदेश फर्केका दुई जनामा जेष्ठ २६ र ३० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय इलामले स्थानीय तहसँग समन्वय गरेर काम गरेका कारण सकारात्मक परिणाम आएको जनाएको छ । १० वटा स्थानीय तहसँग समन्वय गरेर सूचना प्रवाह गर्ने तथा स्थानीय तहकै स्वास्थ्यकर्मीलाई ल्याब सम्बन्धी तालिम दिएका कारण स्वाब संकलनमा पनि समस्या आएको छैन । सो कार्यालयका अनुसार स्थानीय तहका स्वास्थ्यकर्मीले स्वाब संकलनको काम गर्दै आएका छन् । जसलाई स्वास्थ्य कार्यालयले समन्वय गर्ने गरेको छ ।
दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि इलाममा अग्रपमिा रहेर काम गर्नेहरुको परिक्षण पनि गरिएको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाई गर्ने कर्मचारी र जनप्रतिनिधिको गरि हालसम्म ६ सय ९ जनाको पीसीआर र एकहजार ५८ जनाको आरडीटी परिक्षण गरिएको छ । ‘हामीले बढी जोखिम भएकाहरुको पहिलो चरणमा परिक्षण सकेका छौ । भारत तथा अन्य मुलुकबाट आउनेहरुलाई पनि हामी प्राथमिकतामा राखेका छौ ।’ प्रमुख दासले भने, ‘यसकारण पनि इलाम अहिले पनि सुरक्षित छ । कतैबाट कुनै जोखिमको सूचना आए, हामी स्वास्थ्य सेवाका लागि तयार छौ तर यसको अर्थ हामीले अझै सचेत हुनु जरुरी छ ।’
सो कार्यालयले विदेशबाट करिब एकहजार भन्दा बढी मानिस इलाम भित्रने र हालसम्म भित्रिएका चारसयको परिक्षण सम्पन्न गरेको जनाएको छ । इलाम प्रवेश गर्नेहरुले बिशेषगरि पशुपतिनगर र काकडभित्ता नाका प्रयोग गर्दै आएका छन् । त्यसरी इलाम आउनेहरुलाई क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । इलामको बिभिन्न क्वारेन्टिनमा अहिले एकसय ८७ जना रहेका छन् ।
परिक्षण र रिर्पोटको समस्या
प्रदेश १ मा स्वाब संकलनसँगै परिक्षण र परिक्षण पश्चात आउने रिर्पोटको समस्याले क्वारेन्टिनमा भएकालाई पिरोलेको छ । तर इलाममा भने स्वाब संकलनमा त्यस्तो समस्या नभएको प्रमुख दासको भनाई छ । दासले विराटपथसँग भने, ‘हामीले जिल्लाको समग्र अबस्थालाई ख्याल गर्ने हो । भिटिएम (स्वाब संकलन किट) को समस्या खासै छैन । हामीसँग अझै हप्ता दिनलाई पुग्ने भिटिएम छ । तर परिक्षण र रिर्पोट आउन केही समय लाग्ने हुँदा सर्वसाधारणले झन्झट मानेका छन् ।’
प्रदेश १ मा अहिले तीनवटा ल्याब सञ्चालनमा रहेका छ । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर र प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला, विराटनगरबाट स्वाबको परिक्षण हुदै आएको छ । प्रदेश १ मा अहिले दैनिक एक हजार भन्दा बढी स्वाब संकलन हुँदै आएको छ । तर तीन वटै ल्याबमा दैनिक तीनसय २० क्षमता मात्र परिक्षण हुने हुँदा रिर्पोट आउन समय लाग्ने गरेको छ । प्रदेश सरकारले झापाको भद्रपुरमा समेत परिक्षण ल्याब राख्ने तयारी गरेको छ । प्रमुख दासका अनुसार भद्रपुरमा ल्याब रहेको खण्डान भने इलामलाई पनि केही सजिलो हुन्छ ।