एक दुई दिनमा नै पूर्वी नेपालमा मनसुन सक्रिय हुने
विराटनगर । पछिल्लो दुई दिनमा देशभर गर्मी बढेको छ । पूर्वी पहाडी जिल्ला सहित पश्चिमका अधिकांश स्थानमा अत्याधिक मात्रामा गर्मी बढेको छ । तर आज र भोलि दिउँसो सम्म पूर्वी तराईमा बर्षाको सम्भावंना कम रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले अनुसार मनसुनको सक्रियता पूर्व यसप्रकारको गर्मी हुनु स्वाभाविक जनाएको छ । बुधबार ताप्लेजुङको अत्याधिक तापक्रम २७.४ डिग्री सेल्सियस रह्यो । त्यस्तै धरानमा ३५.४ हुँदा विराटनगरमा ३३.६ डिग्री मापन गरिएको छ । बुधबार जनकपुरमा अत्याधिक गर्मी रह्यो । जनकपुरमा ३६.५ डिग्री तापक्रम रहेको थियो ।
मौसम पूर्वानुमान महाशाखाले आज र भोलि दिउँसो सम्ममा पूर्वी तराईका क्षेत्रहरुमा बर्षाको संम्भावना कम रहेको जनाएको छ । महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार बुधबार राती पूर्वी पहाडी जिल्लाका केही स्थानमा बर्षा हुने अनुमान गरिएको छ । मौसमविद् पोखरेलले विराटपथसँग भनिन्, ‘विराटनगर लगायत पूर्वी तराईमा आजै बर्षाको सम्भावना छैन । पूर्वी पहाडका केही स्थानमा भने बर्षा हुन सक्छ ।’
महाशाखाले एक दुई दिन भित्रमा नै पूर्वी नेपालमा मनसुन सक्रिय हुन सक्ने जनाएको छ । ‘अब केही दिन मात्र हो । हामी पनि मनसुन प्रणालीको पर्खाइमा छौ । बंङ्गालको खाडीमा न्यूनचापिय प्रभाव विकसित हुँदै गएको छ र यो सर्दै नेपाल प्रवेश गर्छ ।’ मौसमविद् पोखरेलले भनिन्, ‘अब छिट्टै मनसुन सक्रिय हुन्छ र यो भदौ ११ गते सम्म रहन्छ ।’ उनले पूर्वी नेपालबाट आगमन भएको मनसुन पश्चिम नेपाल भएर फर्कने समेत बताइन् । उनले महाशाखाले औपचारिक रुपमा नै मनसुनको घोषणा गर्ने जानकारी दिइन् ।