वीरगञ्ज । कोरोना भाइरसको महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनको मौका छोपी एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्नेलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५६ केजी लागुपदार्थ गाँजा र सो कार्यका संलग्न रहेको आरोपमा प्रहरीले एम्बुलेन्स सहित तीन जनालाई पक्राउ गरेको हो । लकडाउन (बन्दाबन्दी) को मौका पारेर बुधबार विहान गाँजा तस्करीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार विहान करिब २ बजे वीरगञ्ज महानगरपालिका २७ रामपुर टोलबाट अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटलको एम्बुलेन्सबाट प्रहरीले भारी परिणाममा गाँजा बरामद गरेको हो ।
बाराको सिमरामा रहेको सो टिचिङ हस्पिटलको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्स गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । गाँजा ओसार पसार हुदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले गरेको अप्रेसनबाट एम्बुलेन्स सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दीका २३ बर्षिय जितबहादुर वाईवा, सोही स्थान बस्ने २२ बर्षिय दिलबहादुर वाईवा र पर्सा बहुदरमाई भौराटार बस्ने ३२ बर्षिय हरिशंकर महतो रहेका छन् ।
सो हस्पिटलको एम्बुलेन्स प्रयोग उनीहरुले बरामद गाँजा पर्साको बहुदरमाई नगरपालिका ५ स्थित भौराट्टार गाँउ तर्फ लैजादै गरेको पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ । प्रहरीले पक्राउ परेका माथि थप अनुसन्धान शुरु गरेको जनाएको छ ।