इनरुवा । सुनसरीमा शुक्रबार पुष्टि भएका कोरोना संक्रमित केही विराटनगरको सीमावर्ती जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । प्रहरीले स्रोतले दिएको जानकारी अनुसार संक्रमित १५ जना मध्ये ३ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । केही भने सुनसरीको बिभिन्न स्थान र सप्तरीबाट नेपाल प्रवेश गरेका थिए ।
सुनसरीको बर्जु गाँउपालिकाको सितारा फ्याक्ट्रीको क्वारेन्टाइनमा बसेका ३ जना भारतको हरियाणाबाट जेष्ठ १५ गते नेपाल जोगबनी हुँदै नेपाल प्रवेश गरेका थिए । तीनै जना पुरुष रहेको र उनीहरुको उमेर १८, २९ र ३८ बर्ष रहेको थियो । जोगबनीबाट विराटनगर प्रवेश गरेपछि उनीहरुलाई सिधै बर्जु गाँउपालिकाका क्वारेन्टाइनमा लगिएको थियो ।
त्यसैगरि सुनसरीको हरिनगर गाँउपालिकास्थित भुटाहा क्वारेन्टाइनमा पुष्टि भएका अधिकांश संक्रमितहरु भारतको गुजरातबाट आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संक्रमति मध्ये ८ जना जेष्ठको ११ र १३ गते भारतको गुजरातबाट आएका थिए । त्यस्तै एकजना जेष्ठ १० गते भारतको युपीबाट र १३ गते भारतको सुपौलबाट र १४ गते सप्तरी नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
ंभुटाहा क्वारेन्टाइनमा फेला परेका सबै संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपाली नागरिक हुन । हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अंसारीले युपी लगायतका स्थानबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको बताए । उनले विराटपथसँग भने, ‘प्राय सबै विद्यार्थी हुन ।’
भुटाहा क्वारेन्टाइनमा संक्रमित मध्ये एकजना भोक्राहा नरसिंह गाँउपालिकाका ४७ बर्षिय पुरुष छन् । बाँकी सबै हरिनगर गाँउपालिकाका बासिन्दा हुन । उनीहरु १४ बर्षदेखि २६ बर्षसम्मका पुरुष हुन ।
फाटो क्याप्सन : केही दिन पहिले जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका नेपाली नागरिक (फाइल फोटो)