दैनिक कम्तीमा चार घण्टा बजार खोलौ

Logo
सोमबार, जेठ १९, २०७७

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउन जारी भएपनि बन्द बजार र ब्यापार खुल्नु पर्ने आवाज उठ्न थालेको छ । लकडाउनका पूर्ण रुपमा पालना गर्दै आएका सर्वसाधारणलाई समेत मार पर्न थालेपछि स्वास्थ्य सुरक्षा प्रबन्ध सहित बजार र ब्यवसाय सुचारु हुनुपर्ने धारणा आएको छ ।
सोमबार बजार र व्यवसाय सुचारु गर्ने बिषयमा मोरंग व्यापार संघले आयोजना गरेको छलफलमा उपभोक्ता लगायत सबै सरोकारबालाले मास्कको प्रयोग, सेनिटाईजेशन, मानवीय दुरी लगायतका स्वास्थ्य सुरक्षाका विधिहरु प्रयोग गर्दै कम्तिमा पनि दैनिक चार घण्टा बजार तथा व्यवसाय संचालन गराउनु पर्ने बताईयो ।
संघका अध्यक्ष प्रकाश मुन्दडाले दैनिक विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बजार सञ्चालन हुनुपर्ने सुझाब आएको विराटपथलाई बताए । ‘अहिले पनि अघोषित रुपमा बजार खुलेकै छ । यो अबस्थामा प्रहरी र ब्यापारीबीचमा लुकामारी चलेको छ । यसैलाई ब्यवस्थित गर्नुपर्ने र निर्वाध रुपमा बजार सञ्चालन हुनुपर्ने भनाई आएको छ ।’ अध्यक्ष मुन्दडाले भने,‘हामीले सबै सरोकारबालासँग राय माग्यौ । स्वास्थ्य सुरक्षापनि जरुरी छ । ब्यवस्थित तवरले बजार र ब्यापार सञ्चालन होस ।’
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि गरिएको लकडाउनलाई उद्योगी व्यवासायीहरुको साथ रहेको भन्दै दुई महिना भन्दा बढी समयदेखि उद्योग व्यवसाय बन्द गर्दा आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीले समेत ठूलो आर्थिक संकटको सामना गर्नु परेको ब्यवसायीको भनाई छ ।
संघको पहलमा भएको छलफलमा नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोशिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुन चांदी व्यवसायी संघ, मोरंग अटोमोवाईल डिलर्स एसोसिएशन लगायतलाई वस्तुगत संघहरुका प्रतिनिधि सहभागी थिए । छलफलले बजारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, तरकारी, मिठाई, किचनवेयर, इलेक्ट्रोनिक्स, विद्युतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन सामग्री, निर्माणजन्य, ज्वेलरी, श्रृंगार, फर्निचर लगायतका आदि व्यवसायहरु संचालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्ता लगायत सबै वर्गलाई मास्कको प्रयोग, सेनिटाईजेशन, मानवीय दुरी लगायतका स्वास्थ्य सुरक्षाका विधिहरु अनिवार्य रुपले अवलम्बन गर्नुपर्ने जनाइएको थियो ।
व्यापार संघले बजार र ब्यापार सञ्चालन गर्न संघीय, प्रदेश र स्थानीय तहका सरकार र स्थानीय प्रशासनलाई आग्रह गर्ने जनाएको छ । त्यस्तै संघले बैंकका सम्पूर्ण शाखाहरु सहित कार्यालयहरु संचालन गराउन, भन्सार जाँचपासका कार्यलाई तिब्र बनाउन आदिका लागि समेत सम्बन्धित निकायमा पहल गर्ने समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]