विराटनगर । भारतको जोगबनी नाका हुँदै नेपाल भित्रिएका नेपाली नागरिकलाई होल्डिङ स्टेशनमा राखिएको छ । मंगलबार साँझ नेपाल प्रवेश गरेकाहरु मध्ये २ सय ८१ जनालाई होल्डिङ स्टेशनमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लकडाउनका कारण भारतमा अलपत्र भएका ३ सय ४ जना नेपाली नागरिक मंगलबार साँझ जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए । ती मध्ये २३ जना सुनसरी दुहबी नगरपालिकाका रहेका छन् । उनीहरुलाई दुहबी नगरपालिकाका जनप्रतिनिधिले बुझेर लगेको प्रहरीले जनाएको छ । बाँकी रहेकाहरु विराटनगर १३ स्थित डिएभी स्कुलको होल्डिङ स्टेशनमा राखिएको छ । उनीहरु रुकुम, मोरङ, झापा, तेह्रथुम, पाँचथर लगायतका जिल्लाका रहेका छन् ।
रोजगारीका लागि भारतको विभिन्न स्थानमा पुगेका नेपाल नागरिकहरु नेपाल र भारतमा लकडाउन भएका कारण अलपत्र परेका थिए । मंगलबार साँझ स्थानीय प्रशासन र भारतीय अधिकारीबीच समन्वय गरेर उनीहरुलाई नेपाल प्रवेश गराइएको थियो । नेपाल प्रवेश गरेकाहरु करिब दुई महिनादेखि भारतको जोगबनी स्थित क्वारेण्टाइनमा बसिरहेका थिए । कतिपय भने भारतमा रेलसेवा सुचारु भएपछि रेलमार्ग र अन्य यातायतका साधान मार्फत नेपाल प्रवेश गरेका थिए ।
होल्डिङ स्टेशनमा रहेकाहरुलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ । उनीहरुले १५ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार नेपाली सेनाले व्यवस्थापन र रेखदेख गरेको होल्डिङ स्टेशनमन सुत्ने र खाने व्यवस्था मिलाइएको छ ।