भारतीय गाडी लिएर निर्वाध घम्थे कुख्यात अपराधी ‘कृष’

Logo
बिहिबार, जेठ ०८, २०७७

विराटनगर ।  सुनसरी र सप्तरीको सीमा कोशी ब्यारेज, कुख्यात अपराधी कृष भनिने कृष्णकुमार यादवको ‘सेल्टर’ थियो । कोशी ब्यारेजको बाँध हुँदै भारत छिर्न र नेपाल आउन सहज हुने हुँदा उनी आफ्नो अनुकुलतामा दुबै भूमिको प्रयोग गर्न खप्पिस थिए । कहिले अबैध हतियारको बलमा त कहिले राजनीतिको आडमा सुनसरी र सप्तरीमा उनको तस्करीको धन्दा मौलाई नै रहेको थियो ।
मंगलबार सुनसरी प्रहरीलाई एउटा सूचना आयो । एक ब्याक्ति एके ४७ हतियारसहित सुनसरी प्रवेश गर्दैछ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अंग्रपक्तिमा सक्रिय प्रहरीलाई यो सूचना महत्वपूर्ण थियो । चनाखो भएको प्रहरीले यो बिषयलाई गम्भीरतापूर्वक लिन्छ । ‘भारतीय गाडी आधुनिक हतियारसहित केही मानिस सुनसरी आउँदैछन् भन्ने सूचना पायौ ।’ सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले भने, ‘हामीले सोही अनुरुप प्रहरी परिचालन गर्यौ ।’
दिउँसो डिएसपी बिनोद शर्मासहितको प्रहरी टोली जिल्लाको सीमा नाका भण्टाबारी पुग्छ । नभन्दै ‘अन ड्युटी’ लेखिएको बिआर ५० १२४१ नम्बरको भारतीय नम्बरप्लेटको स्र्कपियो भण्टाबारी क्षेत्रमा देखापर्छ । चालक र छेउैको सिटमा बसेका एक ख्याउटे मानिस त्यहिका स्थानीय युवाहरु भलाकुसारी गर्छन । त्यहाँ भीडभाड भएका कारण प्रहरीले थप अर्को टोलीलाई जिल्ला प्रहरी कार्यालय, इनरुवाबाट मगाउँछ । सानो संख्यामा गएको प्रहरी टोलीले त्यहाँको गतिबिधि नियालि मात्र रहन्छ ।
केही समय पश्चात सो भारतीय गाडी पूर्व पश्चिम राजमार्गबाट पूर्व तर्फ लाग्छ । आफुले पाएको सूचना सही भएको निक्यौल गरेको प्रहरीले सो गाडीलाई पिछा गर्न थाल्छ । यताबाट प्रहरी निरिक्षक सरोज खनालको टोलीपनि पश्चिम तर्फ लाग्छ । प्रहरीको दुबै टोलीले सो गाडीलाई भोक्राहा नरसिंह गाँउपालिका वडा नम्बर ४ मा रोकेर खानतलासी गर्छ । सो गाडीको खानतलासी गर्ने क्रममा प्रहरीले नलकटुवा पेस्तोल, केही थान गोली मात्र होइन् अबैध लागुऔषध डाइलक्स, नाइटोजन, निट्राभेट समेत फेला पर्छ । प्रहरीले यो धन्दामा सक्रिय कुख्यात अपराधी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका – १४ का ३६ बर्षका कृष भनिने कृष्णकुमार यादवलाई समेत नियन्त्रणमा लिन्छ ।

को हुन कृष
विभिन्न राजनीतिक दलहरुसँग नजिक रहेर अबैध धन्दा गर्दै आएका सप्तरीका कृषमाथि सप्तरीका श्रीप्रसाद यादवसहित ६ जना ब्यक्ति हत्याको आरोप छ । तत्कालिन माओवादीका नेता मातृका यादवको साथमा रहेको एके ४७ र एसएमजी सहितका केहि हतियार लिएर भागेका कृषसँग अहिले पनि सो हतियार रहेको बताइन्छ । ‘हामीलाई एके ४७ पनि साथमा छ भन्ने सूचना थियो । तर साथबाट सो हतियार फेला पर्न सकेनौ ।’ एसपी थापाले विराटपथसँग भने ।
कोशी ब्यारेजलाई आधार बनाएर सुनसरी र सप्तरीमा आपराधिक कार्यमा संलग्न रहँदै आएका उनी कहिले भारत त कहिले नेपाल तर्फ हुन्थे । समय अनुसार तस्करी गर्ने कृष पछिल्लो समय लागुऔषधको कारोबारमा सक्रिय थिए । पछिल्लो समय उनले कोशी तटबन्धमा काम गर्ने निर्माण ब्यवसायीलाई निशाना बनाएर मोटो रकम समेत असुली गर्दै आएका थिए । सुनसरी र सप्तरीका ठुला विकास निर्माणको योजनामा फिरौती रकम माग्ने र आफ्नो स्वार्थमा विभिन्न राजनीतिक दललाई प्रयोग गर्ने उनी लकडाउनको समयमा पासको दुरुपयोग गर्दै भारतीय नम्वर प्लेटको गाडीमा निर्वाध रुपमा हिडडुल गर्दै आएका थिए ।
कृषको पिता बद्री यादवलाई तराई मधेशको तत्कालिन तराई जनतान्त्रिक मोर्चाका ज्वाला सिंहले हत्या गरेपछि पिता हत्याको बदला लिन उनले अपराधिक क्रियाकलापमा आबद्ध भएका थिए । आफ्नो पिता मार्ने योजनामा श्रीप्रसाद यादवको हात रहेको भन्दै उनले यादवको हत्या गरेको बताइन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले केही समया वाइसीएलका लागि काम गरेका थिए । उनीमाथि अपहरणको आरोप पनि रहेको छ ।
‘उनको अपराधिक पृष्ठभूमि खोज्ने काम भइरहेको छ । सबै घटनाहरु आइसकेका छैनन् तर अबैध हतियारको मुद्धा रहेको भन्ने जानकारी पाएको छु ।’ एसपी थापाले भने,‘हामी जस्तो सुकै पृष्ठभूमि भएपनि अपराध र अपराधिक मानसिकताले गर्ने गरिने कानुन विपरितको कार्यलाई क्षमा दिनेछैनौ ।’
प्रहरीले उनीमाथि खरखजना ऐन तथा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान तथा कारवाही शुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]