News flash

प्रल्हाद गुरागाई

सोमबार, जेठ ०५, २०७७

विराटनगर । विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘कोरोनासित लड्ने हो, डराउने होइन । श्रीमतिसित डराउने हो, लड्ने होइन किनभने अहिलेसम्म दुइटैको औषधि आएको छैन ।’ बैशाख २३ गते लेखेको यो स्टाटस उनको जीवनमा मेल खाएपनि त्यो सबैका लागि सम्झना मात्र भयो । किनकी १२ दिनमा देवीप्रसाद आफ्नै पत्नीको योजनामा मर्न बाध्य भयो । उनी आाफ्नै पत्नी मीना श्रेष्ठ दुलालको योजनामा मारिए ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय देवीप्रसाद पछिल्लो समयमा आफ्नो ब्यवसायमा सफल हुँदै गएका थिए । १० बर्ष पहिले मीरासँग अन्तरजातिय प्रेम विवाह गरेका उनीहरुको ८ बर्षिय छोरा समेत छन् । देवीप्रसादले विराटनगर महानगरपालिका–१० मधुमाराको एक घर भाडामा लिएर माँ पाथीभरा फर्मा मार्फत औषधिको थोक कारोबार गर्दै आएका थिए । निक्कै मिजासिला र सरल स्वभावका देवीप्रसादको ब्यापार राम्रोसँग फस्टाएको पनि थियो । तर आफ्नै पत्नी शत्रु बन्दा उनले यो संसार छोड्न बाध्य हुनुपर्यो ।
अझ घरमा पति हुँदाहुँदै परपुरुषको निकटताका कारण उत्पन्न भएको तनावले समेत उनको हत्या भएको प्रहरीको भनाई रहेको छ । ३३ वर्षीया मीनाको उनका प्रेमी भनिएका सिरहाको लहान नगरपालिका–१० बडहरिया घर भएका २१ वर्षीय ब्रह्मदेव साहसँगको सम्बन्ध समेत रहेको बताइन्छ । तर प्रहरीले भने उनीहरुको सम्बन्धको बिषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।
ब्रह्मदेव देवीप्रसाद कै फर्ममा काम गर्ने पूर्व कर्मचारी हुन । मीना र ब्रह्मदेवबीच विगत एक वर्षदेखि नजिकको सम्बन्ध देवीप्रसादले थाहा पाएपछि परिवारमा खटपट बढेको थियो । पाँच महिना अघि मात्र देवीले ब्रह्मदेवलाई कामबाट निकालेका थिए । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे । त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको थियो ।

३ जेष्ठ,शनिबार
खानपिन र साथीभाईसँग सहजै नजिक हुने देवीप्रसादले शनिबार घरमा खानपानको योजना बनाए । एक त लकडाउन त्यसमा पनि शनिबारको दिन परेकाले बेलुकाको खानपानका लागि केही केजी माछा समेत खरिद गरे । उनले आफु नजिकका औषधी ब्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्लेलाई साँझमा खानपानका लागि घर बोलाए । केही महिना पहिले औषधी ब्यवसायी संघ मोरङको महासचिव पराजित देवीप्रसाद हरिमोहन कै प्यानलबाट उम्मेदवार बनेका थिए । सो कारणपनि उनीहरुसँग देवीप्रसादको निकटता थियो । प्रायजसो उनीहरु पनि देवीप्रसादको आजजाउ गरिरहन्थे ।
साँझबाट भएको पार्टी करिब साढे आठबजे सम्म चल्यो । त्यो क्रममा तीनै जनाले मदिरा समेत सेवन गरे । त्यसपछि उनीहरु आफ्नो आफ्नो घरतर्फ लागे । पतिसँगको सम्बन्ध चिसो आउन थालेपछि केही महिना पहिलेदेखि नै मीनाले देवीप्रसादको हत्याको योजना बनाउँन थालेकी थिएन् । उनको योजनाको प्रमुख सहयोगी थिए, ब्रह्मदेव । पूर्व योजना अनुसार मीनाले घरमा मदिरा सेवन गरेर लठ्ठिएका पतिलाई हत्या गर्ने उपयुक्त समय ठानिन् ।
मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले स्काइप मार्फत भने,‘पति मदिरा सेवन गरेर सुतेपछि, मीनाले योजना अनुसार ब्रह्मदेवलाई फोन गरेर बोलाइन् । ब्रह्मदेव आफ्नो सहयोगी सोनु साहसहित न्यूरो अस्पताल आइपुग्छन् । उनीहरुले आफ्नो मोटरसाइकल न्यूरो अस्पताल अगाडी पार्किङ गरेर राख्छन् र देवीप्रसादको घरमा करिब साढे १० बजे पुग्छन् । दुबैजना त्यहाँ पुगेपछि मीनाले नै ढोका खोल्छिन् । तर देवीप्रसाद राम्रोसँग निदाँएका हुँदैनन् । सो कारण ब्रह्मदेव र सोनु घरको छतमा गएर बस्छन् ।’
राति ११ बजे छतबाट ओर्लेर देवीप्रसाद सुतेको कोठामा पुगेपनि सोनुले उनको खुट्टा र शरिर थिच्छन् । हत्यामा कुनै प्रमाण नभेटियोस भनेर उनीहरुले हातमा सर्जिकल पन्जा समेत लगाउँछन् । सो क्रममा योजना अनुरुप ब्रह्मदेव आफुसाथ लगेको प्लाटिकको डोरीले घाँटीमा कस्न थाल्छन् । घाँटी कसेपछि असहज भएपछि देवीप्रसादले प्रतिवाद गर्न खोज्छन् । प्रतिवाद गर्न खोज्दा झ्यालमा ठोक्किएर उनको वायाँ आँखामा चोट समेत लाग्न पुग्दछ । सो क्रममा उनले लगाएको सुनको सिक्री समेत चुट्टिएको प्रहरीले जनाएको छ ।
अचेत भएपछि मरेको हो वा होइन भन्ने निधो गर्न दुबैले देवीप्रसादको जीउमा हात र खुट्टाले कुटपिट समेत गर्छन । देवीप्रसादको मृत्यु भएको पक्का भएपछि ब्रह्मदेव र सोनु मोटरसाइकल पार्किङ गरिएको न्यूरो अस्पताल हुँदै आफ्नो बाटो लाग्छन् ।
४ जेष्ठ, आइतबार
विहान करिब २ बजेर ३० मिनेट बजिसकेको हुन्छ । सो बीचमा देवीप्रसादको घाँटीमा रहेको दाग नदेखियोस् भनेर मीनाले पाउडर लगाईदिन्छिन् । उनैले आँखा नजिकै लगेको रगत समेत पुछपाछ गरिदिन्छिन् । लाशको ब्यवस्थापनमा जुटेकी मीनाले पतिलाई असहज भएको भन्दै एकाविहानै छिमेकी र घरबेटीसँग गुहार गर्छिन । उनले पहिला साँझ घरमा पार्टी खाएर जाने देवीप्रसाद साथी धनबहादुर काफ्लेलाई फोन गरेर एम्बुलेन्स बोलाई दिन आग्रह गर्छिन । ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनले सहयोगको याचना गर्छिन । धनबहादुरले एम्बुलेन्स पठाएपछि देवीप्रसादलाई उपचारका लागि नजिकैको गोल्डेन अस्पताल लगिन्छ । पत्नी मीना भने छिमेकीको मोटरसाइकलमा पछिपछि अस्पताल पुग्छिन् । तर अस्पतालमा चिकित्सकले देवीप्रसादलाई मृत घोषित गरिसकेका हुन्छन् ।
बिहान ३ बजे अस्पताल पु¥याइएका देवीप्रसादको मृत्यु अस्वभाविक रहेको देखिएपछि प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गर्छ । उनको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव देखेपछि प्रहरीले प्रहरीले काफ्ले, श्रेष्ठ र मीनासँग सोधपुछ गर्दै अनुसन्धान शुरु गर्छ । घटनामा पत्नी मीनाको संलग्नता देखिएपनि काफ्ले र श्रेष्ठको भने संलग्न नरहेको प्रहरीले जनाएको छ ।
५ जेष्ठ, सोमबार
जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालयको बिशेष टोलीले प्रारम्भिक अनुसन्धानबाटै घटनामा देवीप्रसादको पत्नी मीना र अन्य दुईजनाले कर्तब्य ज्यान गरेको ठहर गर्छ । प्रहरीले सञ्चारकर्मीलाई जानकारी दिदै पति पत्नीबीचको खटपट नै हत्याको प्रमुख कारण भएको जनाएको छ । प्रहरीले घटनामा मीना, ब्रह्मदेव र सुनसरी इटहरी १२ का २० बर्षिय सोनु साह रहेको ठहर गरेको छ । सोनु भारतमा अध्ययन गर्ने बिद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
एसपी अधिकारीका अनुसार मीना र ब्रह्मदेवबीचको सम्बन्धका बिषयमा प्रष्ट नभएपनि उनीहरुबीच निकटता रहेको खुलेको छ । अधिकारीले सञ्चारकर्मीलाई भने, ‘पति र पत्नीको सम्बन्धको बिषयमा ब्रह्मदेवलाई सबै कुराको जानकारी छ । उनीहरुबीचमा बारम्बार इमोमार्फत कुराकानी भएको देखिन्छ । तर अहिले सबै कुराकानीहरु डिलिट गरिएको छ ।’
मीना र ब्रह्मदेवबीचमा फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको थाहा पाएर देवीप्रसादले रोक्ने प्रयास गरेका थिए । यहि कारण उनीहरुको बीचमा झै झगडा हुदै आएको थियो । प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । हत्यामा संलग्न ब्रह्मदेवलाई प्रहरीले आइतबार साँझ विराटनगरको बरगाछीबाट पक्राउ गरेको जनाएको छ । देवीप्रसादले आफ्नो फर्मबाट निकालिदिएपछि उनी बरगाछीको एक फार्मेसीमा काम गर्न थालेको थिए । सोनुलाई भने प्रहरीले सोमबार मात्र पक्राउ गरेको हो । हत्यामा संलग्न तीनै विरुद्ध कर्तव्य ज्यान अन्तरग अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल