विराटनगर । विराटनगर महानगरपालिका समेत कोरोना भाइरसको संक्रमित फेला परेपछि भोलिबाट कडाई गरिने भएको छ । आइतबार राती प्रशासनले सूचना जारी गर्दै औषधी र दुधका पसलहरु मात्र खुल्ने जनाएको छ । प्रशासनले दैनिक रुपमा घर घरमा तरकारी बेच्न आउनेलाई समेत प्रतिबन्ध गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरका बिभिन्न वडाहरुमा कोरोनाको संक्रमण बढेको जनाउँदै अत्याबश्यक औषधी पसल, पानी र दुधका पसलहरु मात्र सञ्चालन हुने जनाएको छ । प्रहरीले लकडाउनलाई पूर्णरुपमा कार्यान्वय गर्न समेत अपिल गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी मानबहादुर राईले विराटपथसँग भने,‘पछिल्लो अबस्थालाई ख्याल गर्दै यो निर्णय गरिएको हो । सबैलाई यो अपिल सबैले पालना गरेर लकडाउनलाई सहयोग गर्नुहोला । अझ घर घरमा तरकारी लगायतका सामाग्री बेच्न आउनेले गर्दा जोखिम बढ्यो । यो पनि रोकिन्छ ।’ राईका अनुसार स्थानीय तह र प्रशासनसँगको समन्वयमा सो निर्णय गरिएको हो ।