विराटनगर । विराटनगरको इक्राहीमा १७ बर्षिया युवतीलाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ को इक्राहीस्थित मकैबारीमा २४ बर्षिय बिरेन गडेरी पालले एक युवतीमाथि जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज विहान अन्दाजी साढे ५ बजे विराटनगर ५ बस्ने गडेरी पालले इक्राही स्थित बिटु बगडियाको जमीनमा लगाएको मकैबारीमा ती युवतीलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेका थिए । सो मकैबारी स्थानीय धीरेन्द्र यादवले लगाउँदै आएका छन् । प्रहरीले आरोपित युवकले पीडित किशोरलाई आफ्नो कब्जामा पारेर ज्यान मार्ने धम्की दिंदै काँधमा बोकेर मकैवारी भित्र लगी जवरजस्ती करणी गरेको जनाएको छ ।
प्रहरीले आफुलाई सो सूचना प्राप्त भए लगतै आरोपी गडेरी पाललाई विराटनगर ४ स्थित इक्राही दिहबारबाबा थानको छेऊमा विहानै पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ अन्तर्गत कारवाही प्रक्रिया थालिएको छ ।