प्रल्हाद गुरागाई
विराटनगर । राज्यमा परिवर्तनका लागि उनलाई संघर्ष गर्दा यतिसम्मको पीडा भोग्नुपर्ने सोचेका पनि थिएनन् । बन्दुकबाट परिवर्तनका हुने उनको दृष्टिकोण थियो । सरकारी जागिरे भएरपनि विचार र सिद्धान्तमा उनले माओवादलाई आत्मसाथ गरे, बन्दुक बोकेर राज्यसत्ता परिवर्तनको पक्षमा लागे । परिणाम उनैको पक्षमा आयो तर उ बेलाको त्यो निर्णयले मोरङ ग्रामथान गाँउपालिकाका झलककुमार भगतलाई अहिले आएर परिवारलाईलाई छिन्नभिन्न बनाउन काफी बनेको छ ।
ग्रामथानको सिध्राहाका थारु समूदायका झलककुमार त्यो बेला तत्कालिन शाही नेपाली सेनामा कार्यरत थिए । सरकारी जागिरे, देश र जनताको सेवामा सर्मपित रहनुपर्ने भएपनि देशको परिवर्तन यथास्थितिमा नहुने उनको निचोड रह्यो । उनले सरकारी जागिरलाई त्यागिदिए । देशमा सरकारी पक्ष र माओवादी बिद्राही पक्षबीच द्धन्द जारी थियो । त्यहि उनी माओवादीमा समाहित हुने निर्णयमा पुगे अनि सेनामा बिद्रोह गर्दै माओवादी जनमुक्ति सेनामा सामेल भए ।
‘ठ्याक्कै मिति चाहि थाहा छैन । तर वहाँ दुई थान हतियारसहित जनमुक्ति सेनामा आबद्ध हुनुभयो ।’ वाईसिएयलका पूर्व मोरङ अध्यक्ष तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य ईश्वरी आचार्यले भने,‘वहाँ वाईसिएलको केन्द्रीय सदस्य पनि हुनुभयो । तर संघीय निर्वाचनको बेला वहाँ पक्राउ पर्नुभयो । र सेनाको हिरासतमा रहनुभयो ।’ सेनाको भौगडाको सूचिमा परेपछि झलककुमारको राज्यले खोजी गर्न थाल्यो । केहीले उनी माओवादीको विप्लव समूहको नजिक रहेको भनेर आरोपित गरेपछि झन उनीमाथि पक्राउ गर्ने दवाव बढ्यो । ‘तर वहाँ पार्टी कै सम्पर्कमा हुनुहन्थ्यो । वहाँ अरु कोही समूहमा लाग्नु भएको थिएन ।’ आचार्यले भने ।
झलककुमार पक्राउ परेपछि भने उनको परिवारमा दुःखका दिन शुरु हुन थाले । करिब ११ बर्षिय छोरालाई ब्लड क्यान्सर भयो । पार्टी कार्यकर्ता, शुभेच्छुक लगायत मिलेर आर्थिक सहयोग गर्दै उनको जेठो छोराको ज्यान जोगाए । ‘हामी सबै मिलेर सहयोग गरेर उनलाई जोगायौ ।’ मोरङ क्षेत्र नम्बर ४ का साँसद अमनलाल मोदीले विराटपथसँग भने, ‘सैनिक इजलासले उनलाई २२ बर्ष जेल सजाय सुनायो । त्यहि फैसलालाई सर्वोच्च अदालतपनि सदर गर्यो । उनी अहिले कारागार मै छन् ।’
भगत परिवारको दुःखको दिन यति मै सकिएन । पतिले कारागारको सजाय पाएपछि पत्नि बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगिन् । दुई छोरा र घरमा रहेका सासु ससुराको लालनपालनमा केही सहयोग पुग्छ कि भन्ने उनको अभिलाषा थियो । सासु ससुरा बृद्धबृद्धा छन् भने छोराहरु नाबालक । तर बिडम्बना उनी अहिले साउदी मै प्यारालाइसिस भएर थलिएकी छन् । ‘यस्तो अबस्था देखेर केही सहयोग गर्ने हामीले पहल गर्यौ ।’ साँसद मोदीले भने ।
बिहिबार साँसद मोदीसहितको एक टोलीले भगतको परिवारलाई नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध गराएको सहयोग वापतको ५० हजार रुपैया हस्तान्तरण गरेको छ । नेता जीवन आचार्य र गंगा दाहालले सो कार्यमा सहयोग गरेको जनाउँदै अध्यक्ष प्रचण्डले बृद्धबृद्धा र बालकलाई लालनपालनमा सहयोग पुग्ने दृष्टिकोण सहयोग गरेको साँसद मोदीले जनाए ।
विराटपथसँग कुरा गर्दै साँसद मोदीले यस प्रकारका बिषयहरु सत्य तथा मेलमिलाप आयोगबाट टुंगिनुपर्ने उल्लेख गरे । उनले भने,‘यस्ता बिषयहरु निक्कै गम्भीर छन् । त्यसैले हामीले यस्ता बिषयमा आवाज उठाउँदै आएका छौ । भगतको पक्षमा मन्त्रीपरिषद्ले समेत ठोस निर्णय गरोस भन्ने चाहान्छौ ।’