

विराटनगर । सामान्य वा जटिल, कुनै पनि प्रकारको रोगको सफल उपचार पश्चात विरामी घर फर्कन्छन् । यो नियमित प्रक्रिया हो । यसरी सफल उपचारपछि घर फर्कदा रोगी खुशी हुनु र चिकित्सकले सफलताको जस लिनु स्वाभाविक हो । यद्धपि बुधबार विराटनगरमा भने खुशी र सफलताको दृश्य भने बेग्लै थियो ।
विराटनगरको कोशी अस्पतालको कोभिड – १९ उपचार केन्द्रमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममाा प्रदेश १ का सामाजिक विकास मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव लगायत चिकित्सक र सञ्चारकर्मीको बोक्लो भीड थियो । उपचार केन्द्रमा रहेका कोरोना संक्रमतबाट मुक्त भएका छ जनालाई डिस्चार्ज गर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।
डिस्चार्ज भएका ६ जना भारतीय नागरिक कोरोना जीतको खुशीमा हिन्दी भाषामा भन्दै थिए,‘ उदयपुरमा हामीलाई सिडियोसावले विराटनगर जानुपर्छ भनेपछि हामी यहाँ आयौ । हामीलाई यहाँ केही समस्या थिएन । सबै डाक्टरले सहयोग र समन्वय गर्नुभयो । हामीलाई डर पनि थिएन त्यहि भएर आज डिस्चार्ज हुदैछौ ।’
बैशाख ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमाती कोरोना संक्रमणबाट मुक्त भएको हुन । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।
कोशी अस्पतालको कामु मेडिकल सुपरिडेन्डेन्ट डा. संगीता मिश्रले अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताइन् । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मदरसामा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । अन्य संक्रमितको पनि स्वाब परीक्षण भइहरेको र दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनामुक्त सबैलाई विदाई गरेका थियो । सो सन्दर्भमा बोल्दै मन्त्री घिमिरेले कोरोना जीतको मुख्य कारण सामूहिक मेहनतको प्रतिफल भएको बताए । उनले भने, ‘हामीले कोरोनाको संक्रमण नियन्त्रणका लागि तत्कालै अस्पताल बनायौ । छुट्टै निर्देशिका बनाएर तत्कालको परिस्थितिलाई ख्याल गर्यौ । हरेक कार्यको बिभाजन गरेर काम गर्यौ । मन्त्रालयका सचिवको संयोजकत्वमा टिम परिचालन गर्यौ । अहिले पनि ७२ जना स्वास्थ्यकर्मीको टोली परिचालन हुनुहुन्छ । २४ जना स्वास्थ्यकर्मीको टिम एक सिफ्टमा परिचालित छ । यो कार्य सफल हुनुमा सामूहिक मेहनत छ ।’