विराटनगर । कोशी अस्पतालमा उपचारमा रहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि कोशी अस्पताल अन्तरगतको कोविड अस्पतालमा उपचाररत थिए । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएकाले बुधबार विहान डिस्चार्ज गरिएको हो । डिस्जार्च भएका सबै भारतीय नागरिकलाई तत्काल विराटनगरमा नै राखिने छ । डिस्चार्ज कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘वहाँहरु तत्काल स्वदेश फर्कन सक्ने अबस्था छैन त्यसैले विराटनगर रानीको एक मदरसामा समन्वय गरेर बसोबासको ब्यवस्था मिलाएका छौ ।’
बैशाख ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमाती कोरोना संक्रमणबाट मुक्त भएका हुन । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक छन् । उनीहरु अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोना मुक्त भएका हुन ।
विराटनगरको कोरोना अस्पतालमा ३१ जना उपचाररत छन् । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन । उदयपुरमा ५ बैशाखमा धर्म प्रचारका लागि आएका १२ जना जमातीलाई कोरोना संक्रमण देखिएको थियो ।
कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार सबैको कोरोना पुनः परिक्षण गरिएकोमा ६ जनाको नेगेटिभ रिपोर्ट आएको हो ।