विराटनगर । विराटनगरको आँखा अस्पतालमा उपचाररत समिक्षा मगरको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम शुरु भएको छ । बैशाख १२ गते साँझ घरको करेसाबारीमा काम गर्ने क्रममा मगरको आँखामा गम्भीर चोट लागेको थियो । उनी जिल्लास्तरको फुटबल खेलाडी समेत हुन ।
उनका परिवारले दिएको जानकारी अनुसार समिक्षाको देब्रे आँखामा चोट लागेको छ । जसका कारण उनको आँखाको ज्योति फर्कन सम्भावना न्यून रहेको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस्तै समिक्षाको उपचारका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ र विराट सांग्रिला स्र्पोटिङ क्लबले २५–२५ हजार नगद सहयोग गरेको छ । क्लबका सचिव काशीराज पराजुली लगायतका पदाधिकारीले उनको परिवारलाई सहयोग रकम प्रदान गरेका थिए ।
मनाङ मर्स्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार दिने भएको छ । त्यस्तै अनिता श्रेष्ठले २६ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।