

विराटनगर । कोरोना भाईरस (कोभिड १९) बाट बच्न सरकारले गरेको लकडाउनको समयमा पीडा र समस्यामा कोही भए सहयोग गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । लकडाउनका कारण समस्यामा परेकालाईसहयोग गर्दै आएका जनाउँदै फाउण्डेसनले बिभिन्न राहत सामाग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरिरहेको उल्लेख गरेको छ ।
फाउण्डेसनले कोही भोकै बसिरेको वा पीडामा रहेका छन् भने सो संस्थालाई सम्पर्क गरि जानकारी गराई दिन पनि आग्रह गरेको छ । फाउण्डेसनले पीडित पहिचान गरि सहयोग गर्ने समेत जनाएको छ ।
फाउण्डेसनले बैसाख ९ गते कीर्तिपुरमा रहेको त्रिभुवन विश्व बिद्यालयमा अध्ययनरत दुईसय बिद्यार्थीहरुका लागि दुईसय बोरा चमल, छ सय केजी दाल, दुईसय पाकेट नुन, दुईसय लिटर तेल र दुईसय कार्टुन बिस्कुट सहयोग गरेको जनाएको छ । त्यस्तै चितवन जिल्ला घर भई झापा अर्जुनधारामा अध्यनरत २४ जना अलपत्र बिद्यार्थीहरुलाई माईक्रोबस रिर्जभ गरी झापाबाट चितवन ल्याईएको समेत जनाएको छ ।
फाउण्डेसनले बैसाख ९ गते नै साँझ, ललितपुरमा अलपत्र अवस्थामा रहनुभएका ९५ जना मजदुरहरुलाई दुईवटा बस रिजर्भ गरी उनीहरुको गृह जिल्ला दाङ पठाईएको, बैसाख १० गते, बिभिन्न जिल्लाबाट काठमाण्डौं, ललितपुर र भक्तपुरमा अस्थाई बसोवास गरिरहनुभएका बिपन्न र गरिव ४३ परिवारलाई एक लाख ३५ हजार रुपैंया नगद प्रदान गरेको र बैसाख ११ गते काठमाण्डौं, ललितपुर र भक्तपुरमा अस्थाई बसोवास गरिरहनुभएका बिपन्न, गरिव र दृष्टिबिहिन महिलालाई एक लाख ८ हजार आर्थिक सहयोग गरेको जनाएको छ ।