विराटनगर । करिब तीन महिना अघि सामूहिक बलत्कार गर्ने चार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा १६ बर्षिय तीनजना किशोर रहेका छन् भने १९ बर्षिय सन्देश लिम्बु र २१ बर्षिय टंके भन्ने कुमार राई रहेका छन् ।
प्रहरीका अनुसार पाँचै जनाले २०७६ साल माघ १५ गते राती ९ बजे १६ बर्षिया एक किशोरलाई जवरजस्ती करणी गरेका थिए । उनीहरुले साविकको शिशवनी बडहरा गाविस वार्ड नम्बर ४ तथा हाल बुढीगंगा गाँउपालिका वार्ड नम्बर ७ स्थित बडहरा चौरमा लगेर बलत्कार गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी मानबहादुर राईले बडहरा चौरको दक्षिणपूर्वमा रहेको महदाखोला पारी थुम्कीमा रहेको घारीमा सामूहिक जबरजस्ती करणी गरेको भनी पीडितले किटानी जाहेरी दिएकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
प्रहरीले तीन अभियुक्त नावालक रहेका कारण उनीहरुको नाम सार्वजनिक गरेको छैन । अभियुक्त मध्येका एक भने आफन्तको घरमा पाहुना आएको बताईएको छ । प्रहरीको टोलीले बुधबार दिउँसो ११ बजे उनीहरुलाई बुढीगंगा गाउँपालिका वडा नम्बर ६ मा फेला पारी पक्राउ गरेको जनाएको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।