विराटनगर । सरकारले ल्याएको अध्यादेशको बिषयमा पार्टीमा कुनै छलफल नभएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार नेकपाको सचिवालय बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यादेश ल्याउने बिषयमा छलफल नभएको प्रष्ट पारेका हुन ।
‘यस्तो गम्भीर बिषयमा पार्टीभित्र छलफल हुनु जरुरी थियो । यो अध्यादेश जारी भएपछि मात्र आकस्मिक जस्तो गरेर सचिवालयको बैठक बोलाईयो ।’ प्रवक्ता श्रेष्ठले भने, ‘यसको औचित्यमाथि बिभिन्न कोणबाट गम्भीर छलफल भएको छ । यस्ता बिषयमा पार्टीभित्र छलफल गर्नु जरुरी थियो ।’
श्रेष्ठले बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताहरुले विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राखेको समेत बताए । पार्टी एकता र सरकारलाई सफल बनाउँने सँगै कोरोना भाइरसको बिषयमा समेत छलफल भएको उल्लेख गरे ।