विराटनगर । प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ईश्वरबाबु कार्की प्रदेश १ को प्रहरी प्रमुख भएर आएका छन् । नेपाल प्रहरीको बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट बढुवा भएर दज्र्यानी चिन्ह प्रदान गरिएकै दिन उनको पदस्थापन भएको हो ।
सोमबार नेपाल प्रहरीका १० जना एसएसपीले डिआईजीको दज्र्यानी चिन्ह प्राप्त गरेका थिए । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुख हेरफेर गरेको छ । बढुवा भएका ७ जना डिआईजीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
गृहले प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने प्रदेश २ मा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीले जिम्मेवारी पाएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको सफल नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।
हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।