विराटनगर । उदयपुरको भुल्केको एक मस्जिदमा रहेका १३ जनामा कोरोनाको संक्रमणदेखि त्यहाँका अन्य बासिन्दाको पनि स्वाब परिक्षणको कार्य शुरु गरिएको छ । नेपाली सेनाको १८ नम्बर वाहिनीको समन्वयमा भुल्के बस्तीमा स्वाब संकलनको कार्य गरिएको हो ।
आइतबार कोशी अस्पताल, विराटनगरमा गरिएको परिक्षणबाट १८ जनाको स्वाब परिक्षण नेगेटिभ देखिएको हो । भुल्केस्थित मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना संक्रमण देखिएपछि शनिबार सो वस्तीका ६९ जना सर्वसाधारणको स्वाब संकलन गरिएको थियो । परीक्षणका लागि कोशी अस्पताल ल्याइएको अन्य स्वाबको सोमबार रिपोर्ट आउने छ ।
त्यसै गरी आइतबार नेपाली सेनाको सक्रियतामा स्वास्थ्य प्राविधिकहरूले भुल्के वस्तीका एकसय ५२ जनाको स्वाब संकलन गरेका छन् । वस्तीमा रहेका अन्यको स्वाब संकलन भोली पनि जारी रहने बताइएको छ ।