इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका राहत वितरणको काम शुक्रबारबाट पनि शुरु हुन सकेको छैन । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि त्यसको असर दैनिक ज्यालादारी गर्ने मजदुर तथा गरिब र बिपन्न वर्गलाई पर्दै आएको छ । इनरुवा नगरपालिकाले सोही वर्गलाई राहत प्रदान गर्नका लागि कबिन इन्टरनेशनलले मात्रै केही दिन अघि ५ हजार केजी चामल सहयोग गरेको थियो ।
राहत सामाग्री लक्षित वर्गमा नै परोस् भनेर इनरुवा नगरपालिकाले मापदण्ड बनाएर लगत लिने कार्य शुरु गरेको थियो । वडा समिति मार्फत लगत लिएर राहत वितरण गर्ने भनिएपनि लकडाउनको लामो समय वितिसक्दा पनि राहत सामाग्री वितरण हुन सकेको छैन । समयमा राहत सामाग्री वितरण हुन नसक्दा गरिब तथा बिपन्न वर्ग समस्यामा परेका छन् । अन्य नगरपालिकामा जस्तो इनरुवा नगरपालिकामा निशुल्क भोजन लगायतका राहतका सामाग्री वितरण समेत भएका छैनन् । अहिले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ ।
केही दिन अघि एक बैठकमा इनरुवाका नगरप्रमुख राजन मेहताले नगर क्षेत्र भित्र रहेका करिब ५ हजार परिवारलाई राहत वितरण गर्ने बताएका थिए । सोही अनुरुप वडा समितिको कार्यालयले सर्वसाधारणलाई लगत फारम भर्न लगाई तथ्याङक लिएको थियो । तर नगरपालिकाका लक्ष्य भन्दा धेरै संख्यामा राहत माग्ने भएपछि समस्या परेको बताईन्छ । यस बिषयमा नगरप्रमुख मेहतासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह राहत वितरण कार्य ढिलो भएको बताउँछन् । विराटपथसँग कुरा गर्दै अध्यक्ष साहले राहत माग्ने संख्या धेरै भएकै कारण समस्या भएको जानकारी आफुले पाएको बताए । उनले संघसँग पनि केही राहत सामाग्री रहेको बताउँदै नगरपालिकाले राहत सामाग्री वितरण गरे आफुहरुले सहयोग गर्ने बताए । नगरपालिकाको गोदाममा राहतका सामाग्रीहरु अहिले भण्डारण गरिएर राखिएको छ । नगरपालिकाले शनिबारदेखि राहत वितरण गर्ने जनाएको छ ।