जनकपुरधाम । प्रदेश २ सरकारले कोरोनाको संन्त्राससँगै लकडाउनका कारण किसान पिडित भएमा बैंक, वित्तिय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको व्याज सरकारले तिरिदिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्री परिष्दको शुक्रबार बसेको बैठकले कोरोना महामारी विरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई सरकारले एकमुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ ।
बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा नीजि क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्री परिषद्को बैठकले कृषि कर्मको लागि किसानहरुले ५ लाख सम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । त्यसैगरि ५ लाख देखि १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखी ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय गरे बमोजिम व्याज तिरि दिने निर्णय गरेको छ ।
सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार दुध, फलफुल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्त अन्य राहत उपलब्ध गराउने निर्णय गरेको छ ।