इटहरी । सहयोगी मन भएपछि केले रोक्छ र केले छेक्छ । सुनसरीको इटहरीमा यस्तै मनकारी दिदीभाईले कोरोना प्रकोप ब्यवस्थापन कोषमा सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।
इटहरीका श्रेया चापागाई र श्रब्य चापागाईले आफ्नो खर्चबाट बचत भएको रकम खुत्रुकेमा राख्ने गरेका थिए । दिदीभाई मिलेर संचित गरेको रकम यो विपत्को बेला राहत कोषलाई प्रदान गर्ने निधोमा पुगेका उनीहरुले खुत्रुके फुटाए । त्यसपछि दुबैले खुत्रुकेमा जम्मा भएको रकम १० हजार इटहरी उपमहानगरको कोषमा हस्तान्तरण गरे ।
अघिल्लो दिन मा श्रेया र श्रब्यका माता पिता पुस्कार र खेमु चापागाईले सो राहत कोषमा ५१ हजार रुपैया जम्मा गरेका थिए । माता पिताले रकम जम्मा गरेपछि त्यसैको प्रेरणा स्वरुप उनीहरुले खुत्रुके फुटाएरै भएपनि विपद्को बेला राहत प्रदान गरे । विपद्का वेला वालवालिकाले देखाएको यो उदार भावना र उदाहरणीय कार्यको इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले उच्च सम्मान ब्यक्त गरे । नगरप्रमुख चौधरीले ती वालवालिकालाई सम्पूर्ण नगरवासीको तर्फवाट धन्यवाद ज्ञापन समेत गरे ।
यसअघि पनि जनता स्कुल इटहरीका विद्यार्थीहरुले खाजा खर्च कटाएर दिनँहु एक एक रुपियाँ रकम जम्मा गरेको कोषवाट एकलाख एक हजार रकम उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा दिएका छन ।