पैरो झर्नु पर्छ, हिमाल गल्नु पर्छ
विकृतिका पहाडहरु सबै ढल्नु पर्छ ।
दाम नदिई काम हुन्न, कस्तो भयो देश
स्वाभिमानी इमानदारको बतास चल्नु पर्छ ।
हरेक ठाउँमा बेइमानीले, सगर चुम्न थाल्यो
पसिना र मिहिनेतको अन्न फल्नु पर्छ ।
अहंकार र घमण्डले, विभाजित छन् बस्ती
चेतनामा एकताको दियो बल्नु पर्छ ।
सुनकै महल भएपनि के गर्नु र धनले
आर्यघाटको मझेरीमा एकदिन जल्नु पर्छ ।
— झोराहाट, मोरङ