

विराटनगर । सरकारले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुले पुन ७ दिन होम क्वारेन्टाइनमा नै बस्नुपर्ने जनाएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले १४ दिन पश्चात के हुने भन्ने बिषयमा सरकारले थप ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाएका हुन ।
सरकारले कोरोनाको संक्रमण र नियन्त्रण रोकथाम गर्न १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य रुपमा ‘र्यापिट टेष्ट’ गर्नुपर्ने र त्यसपछि होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । अर्थमन्त्री खतिवडाले भने, ‘वहाँहरु होम क्वारेन्टाइनमा बसे नबसेको सुनिष्चित गर्न स्थानीय तहबाट अनुगमन समेत हुनेछ ।’
त्यसैगरि मन्त्रिपरिषद्को बैठकले अन्य मन्त्रीहरुलाई समेत थप जिम्मेवारी दिएको छ । केही मन्त्रीहरुलाई प्रदेश र केही मन्त्रीहरुलाई स्वंमसेवक परिचालन गर्न, सामाजिक संघ संस्था परिचालन गर्न जिम्मेवारी तोकेको छ ।