विराटनगर । मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ९ मा ११ जना पाकिस्तानी धर्मगुरुले आश्रय लिएर बसेको रहस्य खुलेको छ । सुनबर्सी ९ का वडाध्यक्ष कमलकिशोर सिंहले विराटपथसँग भने, ‘९ जना होइन ११ जना बस्नुभएको छ । वहाँहरु लकडाउनका कारणले अलपत्र पर्नुभएको हो । आफ्नै देश फर्कन चाहानुहुन्थ्यो तर अलपत्र पर्नुभयो ।’
वडाध्यक्ष सिंहले उनीहरु काठमाण्डौको बाटो हुँदै पूर्वी नेपाल आएको बताए । उनका अनुसार अलपत्र परेका पाकिस्तानी नागरिक लकडाउन पूर्व नै तराई झरेका थिए । ‘ठिक मिति मलाई थाहा छैन तर वहाँहरु जमात (मस्लिम समूदायको धार्मिक कार्य) मा आउनुभएको हो भन्ने बुझेको छु ।’ उनले भने,‘यो बिषयमा यहाँका सबै प्रशासनका निकायलाई जानकारी छ ।’
उनीहरु स्थानीय इस्लामियाँ मस्जिदमा बसिरहेका छन् । स्रोतका अनुसार उनीहरु केही महिना पहिले सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक कार्यमा सहभागी हुन आएका थिए । तर प्रशासनले भारतका मात्र मुस्लिम समुदायका ब्याक्तिहरुलाई नेपाल आउन दिने बताएपछि उनीहरु कहिले सुनसरी त कहिले मोरङका बिभिन्न मस्जिदमा बस्दै आएका थिए ।