विराटनगर । लायन्स क्लबले विराटनगर क्षेत्रभित्र रहेका बिभिन्न समूदायलाई राहत वितरण गरेको छ । विराटनगर महानगरपालिकासँग समन्वय गरेर लायन्सले करिब दुईसय ५० भन्दा बढी परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
यस क्रममा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले विराटनगर -१ मा रहेको विपन्न तेस्रो लिङ्गीहरुको परिवार सहित एकसय २० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । ‘फुड फर हंगर’ कार्यक्रम अन्तरगत क्लबका सर्भिस चेयरपर्सन अनिल शर्मा चौधरीको संयोजनमा राहत सामग्री वितरण गरिएको क्लबका उपाध्यक्ष हैदर अलीले बताए ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारणले दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवार समस्यामा परेपछि लायन्स क्लबहरुले राहत वितरण गर्ने कार्य जारी राखेका छन् । आइतबार नै लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले विराटनगर ५ स्थित आधारभुत विद्यालय कोचाखालमा डेरामा बस्ने ६० मजदुर परिवारलाई लक्षित गरेर राहत वितरण गरेको छ ।
विराटनगर महानगरका मेयर भिम पराजुली तथा लायन्स अन्तराष्ट्रिय ३२५ ए वानका गर्भनर राजन खत्रीको उपस्थितिमा वडाअध्यक्ष मिनकुमार आचार्यलाई क्लब अध्यक्ष डा. बालकृष्ण साहले राहत सामाग्री हस्तान्तरण गरे । महानगरले तोकिएको मापदण्ड अनुसार सो राहत सामग्रीहरुमा १२ केजी चामल, २ केजी दाल, २ केजी आलु, आधा लिटर तोरीको तेल, १ केजी नुन र १ साबुन रहेको छ ।
हेल्थ प्रोफेसनलका सदस्य कृष्ण भट्टराईका अनुसार आईतबार वडा नम्बर ४ को ईक्राहीस्थित गिरी टोलका ५५ परिवारलाई पनि महानगरकै मापदण्डका आधारमा राहत सामग्री उपलब्ध गराएको छ ।