इनरुवा । कबिन इन्टरनेशनल प्रालि, विराटनगरले इनरुवा नगरपालिकालाई ५ हजार केजी चामल प्रदान गरेको छ । आइतबार एक इन्टरनेशनल प्रालिले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई सो चामल हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसको संक्रमण र जोखिम न्यून गर्न सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेका गरिब, असहाय र बिपन्नलाई राहत प्रदान गर्न सो प्रालिले चामल वितरण गरेको हो । सो प्रालिका सञ्चालक युवा ब्यवसायी कबिन श्रेष्ठ इनरुवा नगरपालिका निवासी हुन । उनी लामो समयदेखि विराटनगरमा रहेर ब्यापार, ब्यवसायका साथै सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।
‘विराटनगर लगायतका अन्य स्थानमा धेरैले सहयोग गर्दै आएका छन् तर आफ्नै गृहनगरमा लकडाउनले गर्दा गरिब र बिपन्न भोकै रहेको खबर पाए ।’ युवा ब्यवसायी श्रेष्ठले विराटपथसँग भने,‘यो भावना र संम्बेदनाको बिषय हो । त्यसैले यो बिपद्को समयमा आफ्नै स्थानमा केही सहयोग गर्न मन लाग्यो ।’ उनले यो बाहेक अन्य केही सहयोग चाहिएमा इनरुवा नगरपालिकासँग आफ्नो कम्पनी सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
इन्टरनेशनलले प्रदान गरेको चामल इनरुवा नगरपालिकाले गरिब, बिपन्न र खान समस्या परेकाहरुलाई बाँड्ने जनाएको छ । यसअघि कोशी बाढी पीडितलाई समेत सो संस्थाले राहत र सहयोग प्रदान गरेको थियो ।