लकडाउनको बिषयमा केही निर्णय भएन
विराटनगर । मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश, जिल्ला र स्थानीय तह आवागमन रोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शनिबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले बन्दाबन्दीको समग्र बिषयमा मूल्याङकन गरेको जनाउँदै अहिले पनि जोखिम कायमै रहेको निष्कर्ष निकालेको छ । सरकारको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले भने,‘जोखिम रहिरहेको छ । त्यसैले यो अबस्थामा सबैले सरकारको निर्णयको पूर्णपालना गर्नुपर्छ । त्यसैले सरकारले जोखिम कम गर्न प्रदेश–प्रदेश, जिल्ला–जिल्ला र स्थानीय तहमा आवागमन रोक्ने निर्णय भएको छ ।’
सरकारले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने बिषयमा भने केही निर्णय गरेको छैन । प्रवक्ता डा.खतिवडाले लकडाउनको समय थप्ने वा नथप्ने बिषयमा आजको मन्त्रीपरिषद्को बैठकमा केही छलफल नभएको जानकारी दिए ।
सरकारले कैलाली, बाग्लुङ र कञ्चनपुर जिल्लालाई बिशेष प्राथमिकतामा राखेको जनाउँदै सो जिल्लामा कोरोना भाइरसको आंशका भएका ‘र्यापिट टेस्ट’को ब्यवस्था गरेको छ । मन्त्री खतिवडाले पिसिआर बिधिबाट मासको समेत परिक्षण गरिने जानकारी दिदै कोरोना नियन्त्रण र संक्रमणबाट जोगिन लकडाउन नै प्रभावकारी हुने बताए । उनले स्वास्थ्यकर्मीलाई आबश्यक पर्ने स्वास्थ्य उपकरण छिट्टै उपलब्ध गराइने जनाउँदै सुरक्षाकर्मीले सेवा प्रवाह गर्दा सुरक्षामा खलल वा आँच पुर्याए कारवाही गरिने समेत जनाए ।