

विराटनगर । भुईतल्ले घरको साँधुरो कोठामा मंगलबार साँझ भेटिएका ४० बर्षिय सुदाम कार्की चुरोटको सर्को तान्दै थिए । भित्ताभरि सजिएको पोष्टरको एक कुनामा उनको नाम शिर्ष स्थान मै थियो । बडो फुर्तीका साथ कार्की भन्दै थिए, ‘मैले यो पद त्यतिकै पाएको होइन, निक्कै मेहनत गरेको छु ।’
कार्की नेपाल यातायात मजदुर संगठन, इकाई समिति हाटखोला विराटनगरका अध्यक्ष हुन । कार्कीले २० बर्षसम्म एक्लै अध्यक्ष बनेका प्रमोदकुमार चक्रवर्तीलाई हराउँदै गतबर्ष मात्र अध्यक्ष भएका थिए । चक्रवर्तीको एकछत्र राजलाई पराजित गरेपछि उनी मजदुरको हकहितमा क्रियाशिल रहेको बताउँने उनले आफ्नो जीवनको भोगाइलार्ई बेलिबिस्तार लाउन कुनै कजुँस्याई गरेनन् ।
मोरङको पथरी घर भएका कार्कीको बाल्यकाल रमाइलोसँग नै बित्यो । सुनसरीको इटहरीमा ठूलोबुवाको घर थियो । बुवाले छोरा राम्रोसँग पढ्ला भनेर इटहरीमा रहेको पिसजोन बोडिङ स्कुलमा भर्ना गरिदिए । कार्की २ कक्षामा पढ्दै थिए । ‘सोले’ नामक भारतीय सिनेमा इटहरीको कृष्ण टाकिजमा लागेको थियो । साथीको लहैलहैमा उनी सिनेमा हेर्न हल पुगे । बेलुका घर पुग्दा ठूलोबुवाको छोराले थाहा पाए । पढ्ने बेलामा सिनेमा हेर्न गएको भन्दै कार्की ठूलोबुवाको छोराले बेस्सरी कुटे ।
हक्की स्वभावका कार्कीले पिटाई खाएपटि आफ्नो उद्धेश्य बदले । ठूलोवुवाको घरबाट भागेर हिडेका उनको जीवनको शैली मात्र बदलिएन् । जीवनले गलत मोड लिन थाल्यो । ‘घरबाट भागेर त हिँडे तर कहाँ जाने, के गर्ने कुनै लक्ष्य थिएन् ।’ विगतलाई सम्झँदै कार्कीले भने, ‘ठूलो योजना त थिएन, सुनसरीको झुम्का, चतरा चल्ने बसको खलासी बन्न पुगे ।’
बसको खलासी बनेपछि लाउन खान समस्या भएन उनलाई, तर जीवनको मोडले अर्को रुप लिन थाल्यो । रिसले बदलिएको उद्धेश्यले उनलाई भबिश्यमा सफल बन्ने ढोका मात्र बन्द गरिदिएन, बस कै जिन्दगीमा सफलता देख्न थाले सुदामले । निडर, हक्की र परि आउँदा जेपनि गर्न सक्ने खुबी भएका कारणले बस साहुहरुको रोजाईमा उनी पर्दै गए । खलासी काम गरेको केही बर्षमा नै उनी पूर्वको राम्रो यातायत कम्पनी मातृ भाग्यरेखामा आबद्ध भए । खलासी काम गर्दैदेखि रक्सी र गाँजाको कुलतमा फँसेका सुदममा भाग्यरेखामा गएपछि भाग्य बदलिएन् बरु भाग्यले उनलाई ठग्दै लग्यो ।
सुनसरीबाट झापा पुगेका सुदम २०५२ सालदेखि लागुपदार्थको गलत संगतमा फँसे । काकडभित्ता नाकाको बसाँई, मात ृभाग्यरेखा यातायातको जागिर, हातमा मनग्ये रुपैयाले उनलाई लागुपदार्थ ब्राउनसुगरको संगतमा फँसायो । सीमावर्ती भारतीय बजार पानीटं्याकीमा सहजै पाउने ब्राउनसुगरको लतमा उनी निस्कन नसक्ने गरि फँसे । पाँच मिनेटको दुरीमा पुग्न सकिने सो बजारमा सहजै पाउने ब्राउनसुगरको निरन्तर अम्मली भएपछि जागिरबाट पनि उनले हात धुनुपर्यो । ‘ब्राउनसुगरको नशामा डुबेपछि के गर्ने हो थाहा नै हुदैनथ्यो । त्यसपछि म फेरि घर पथरी नै फर्किए । आफुपनि नशामा हुन्थे । पैसाको लागि ब्राउनसुगरको कारोबार पनि गर्थे ।’ निर्धक्कसाथ सुदमले भने,‘त्यो बेला म गाँउको ‘भाइरस’ नै भइसकेको थिए । धेरैले मलाई गाँउ बिर्गायो भनेर कुटपिटको प्रयास गरे । तर मैले नशा छोड्न सकिन् ।’
कहिले पाँचथरको फिदिम त, कहिले सुनसरीको इटहरी । लक्ष्यबीहिन यात्राले उनलाई धेरै ठाँउसम्म दौडायो । २०५६ सालमा सुदम विराटनगर आईपुगे । यो यात्राको क्रममा उनले जानेको पेशा थियो, ड्राइभरी । कहिले बस, कहिले ट्रक, कहिले सानो सवारी साधन चलाउने सुदमले काम त गर्थे । उनको कामको उद्धेश्य दुई चार पैसा जोगाउने भन्दा पनि कमाएको पैसा लागुपदार्थ प्रयोगको लागि मात्र हुन्थ्यो । घरपरिवारको तिरस्कार, समाजको अपहेलना र राज्यले दिएको ‘ड्रग युजर’ को दर्जाले उनमा परिवर्तन हुने कुनै सम्भावना नै थिएन । ‘जा कोशीमा गएर हामफालेर मर ।’ अभिभावकले भनेको सम्झँदै उनले बताए, ‘आमाले त धेरै पटक रुदै यस्तो छोरो जन्मिनु भन्दा गर्भ मै मरेको भए हुन्थ्यो होला भन्नुहुन्थ्यो ।’
विराटनगर आएपछि पनि उनीमा केही परिवर्तन आएन । नजिकैको भारतीय बजार जोगवनीमा हरेक दिन लागुऔषध प्रयोग गर्न धाउने उनका लागि धेरै साथीहरु फेला परे । धेरै साथीहरु मध्ये उनको सबैभन्दा मिल्ने साथी थिए, मोरङ रंगेलीका भीम कोइराला । भीम कै संगतमा उनले टिडीजेसिक नामक लागुऔषधको नियमित प्रयोग गर्न थाले । हरेक दिन जोगवनी धाएर टिडीजेसिक नामक लागुऔषध सिरिन्जको माध्यमबाट शरिरका बिभिन्न स्थानमा हान्दा हान्दा उनको शरिरका भागहरु छिद्र छिद्र भइसकेका थिए । २०५७ सालमा उनी मित्र विगोयमा परे । उनका मिल्ने साथी भीमलाई भारतीय बजारमा कसैले हत्या गरिदियो । त्यसपछि उनीमा केही परिवर्तनका संकेतहरु देखा पर्न थालेका थिए ।
फेरिएको जीवन
पहिलो संविधानसभाको निर्वाचन आउन केही महिना बाँकी थियो । देशमा राजनीतिक परिवर्तन भईसकेको थियो । यस्ता हरेक परिस्थिति बुझेका सुदामले अब भने आफैमा सुधार गर्नुपर्छ भनेर प्रण गरे । कसैको कुरामा बिश्वास नगर्ने र कसैको कुरा नमान्ने उनले आफ्नै शरिर नियाले, समाजले आफुलाई दिएको उपमा सम्झे र परिवारले पाएको दुःखलाई बुझे । निक्कै भावुक हुँदै उनले भने,‘यी सबै कुरालाई बुझेपछि मैले एकै पटकमा नसकेपनि बिस्तारै बिस्तारै लागुपदार्थबाट टाढा हुन्छु भन्ने सोच बनाए ।’
उनको फुपुको छोरा रोशन बस्नेत लगायतको समूहले विराटनगरमा लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने गृह रिचमण्ड फेलोसिपको स्थापना गरेका थिए । स्थापित सवारी चालकको रुपमा समेत परिचय बनाएका सुदम सरासर रिचमण्ड फेलोसिप पुगेर आफु सुधारको बाटोमा लाग्ने बताए । उनी आफै सुधारको बाटोमा लाग्ने कुराले उनका आफन्त बस्नेतपनि चकित परे । ‘मलाई त्यो बेला आत्माग्लानी भएको थियो । आफैदेखि घिन लागेर आएको थियो ।’ आफ्नो कथा सुनाउँदै सुदामले भने, ‘मैले आफुलाई परिवर्तन गर्छु भनेर प्रण नगरेको भए, शायद अहिलेसम्म म यो संसारमा रहन्न थिए होला ।’
सुधार केन्द्रको बसाँईपछि उनी त्यहि रिचमण्ड फेलोसिपमा काम गर्न थाले । सुदामले दैनिक आउने लागुऔषधको प्रयोगकर्तालाई रेखदेखदेखि लिएर त्यहाँ हुने अन्य काममा समेत सहयोग गर्न थाले । रिचमण्डमा लामो समयको बसाँईपछि हातमा सीप भएका उनी अहिले फेरि पुरानै पेशामा फर्किएका छन् । विराटनगरमा आफ्नै सवारीसाधन चलाउने मात्र होइन, यातायात मजदुरको नेता समेत भएका छन् । करिब २५० जना मजदुर आवद्ध यातायात मजदुर संगठन इकाई समितिमा उनी दैनिक समयपनि दिन्छन् । उनको अहिलेको एउटै बाचा छ,‘धरैलाई राम्रो गर्न सकिन होला, तर कसैको कुभलो र नराम्रो पनि गर्दिन ।’