

सूर्यको
रक्तिम लालिमा संगै
उदाएको,
अर्को नयाँ दिन
आज,
आफ्ना अघिल्तिर फेरि
संचारका
अत्याधुनिक उपकरण
सजाएर
मृत्युको नयाँ तथ्यांक हेर्दै
प्रत्येक मान्छे
विवशताको नेलमा
स्वयम बाँधिएर,
मृत्यु उत्सव मनाउन
लाचार भएको छ !
प्रत्येक विहान
सुर्यको थकित अनुहार संगै
विद्युतिय छापामा
असफल प्रयासहरुका
खवरसंगै छापिएका
रगतका छिट्टाहरुमा
लत्पतिएका निरस, निरिह
अनि नतमष्तक मान्छेहरुका
अनुहारले
चिच्याइ चिच्याइ
मृत्यु उत्सवको
उद्घोष गरिरहेको छ ।
मृत्यु उत्सब मनाइरहेको
प्रत्येक प्रहरले
अनुत्तरित प्रश्नहरु
जन्माइरहेको छ,
यो प्रलयको पुर्वाभाष हो
वा विनाशको संकेत ?
क्षमताको परिक्षा हो
वा विश्वयुद्धको आवेश ?
प्राकृतिक भए त
ढिलो चाँडो
प्रकृतिले नै स्वयं
मान्छेलाई वचाउँछ,
कृत्रिम भए
धित नमरे सम्म,
मृत्यु उत्सव मनाउछ !!!
– इनरुवा,सुनसरी