

जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्लामा रहेका नीजि अस्पताल र नर्सिङ होमलाई अनुसन्धान र कारवाहीको दायरामा ल्याउन मताहतका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको महामारीले आक्रन्त बनाइरहेको बेला जिल्लामा रहेका नीजि क्षेत्रका स्वास्थ्य संस्थाले आधारभुत सेवा प्रदान नगरेको गुनासो आएपछि प्रदेश सरकार कठोर बनेको हो । मन्त्रालयले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै स्वास्थ्य संस्थाले प्रचलित कानून अनुरुपको कार्य गरे, नगरेको अनुगमन गर्न समेत आग्रह गरेको छ ।
मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ,‘ न्यूनतम धर्म, काम, कर्तब्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल र नर्सिङ होमलाई तत्काल अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन त्यहाँ जिल्लास्तरको निकायहरुबाट कानून बमोजिम त्यस्ता संस्थाहरुको दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी र लकडाउनको अवधिभर अर्को ब्यवस्था नहुन्जेलसम्म त्यस्ता नीजि संस्थाहरुलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित सञ्चालन गराउन हुन यस मन्त्रालयको निर्णयानुसार अनुरोध गर्दछ ।’
दिनदिनै अस्पतालले उपचार नगरेका कारण बिरामीले ज्यान गुमाउनु परेको समाचार आएपछि प्रदेश सरकार कडा रुपमा प्रस्तुत भएको हो ।