

विराटनगर । कोरोना भाइरसको संक्रमण र रोकथामका लागि सरकार बिस्तारै कसिलो बन्दै गएको थियो । सरकारले सार्वजनिक यातायतका साधानमा यात्रा गर्दा सिट क्षमताका आधार गर्न निर्देशन दिइसकेको थियो । यही समयमा भारतबाट आएका केही मानिसहरु नेपाल प्रवेश गरेका थिए । बर्षमा कम्तीमा एकपटक काकडभित्ता नाका हुँदै नेपाल प्रवेश गर्ने उनीहरुको पुस्तादेखि कै चलन पनि थियो ।
चैत्र ११ गते मुलुकमा लकडाउन गर्ने सरकारी निर्णयको ठिक एकदिन अघि भारतीयको एक समूह विराटनगरको ठाकुरवाडी रोडमा बडो मेहनतले सडकको माटो सफा गर्दै थिए । उनीहरुलाई सडक सफा गर्न कसैलाई खटाएको थिएन् । तर पनी उनीहरु सडक किनारको माटो बडो मेहनतले जम्मा गर्दै थिए । त्यसो गर्नुमा एक मात्र कारण थियो, माटोमा सुन पाउने आशा । ठाकुरवाडी रोडमा रहेका अधिकांश सुन पसलमा अघि उनीहरु दिनभर माटो जम्मा गर्न ब्यस्त थिए ।
उनीहरु चैत्र ९ गते भारतको सिलगुडीबाट नेपाल आएका थिए । ९ जनाको एक समूह माटोमा सुन खोज्न विराटनगर आएको थियो । सिलगुडी लागिपाडाका ऋषि गजपुरी आमासहित विराटनगर आएका थिए । दुबैजना माटो सोर्हन ब्यस्त थिए । ऋषिले भने,‘विराटनगर धेरैपल्ट आएको छु । सानोमा बुवासँग आएको थियो । मलाई २० बर्ष पहिले पनि आएको सम्झना छ ।, त्यतिबेला बुवासँग आएको थियो ।’
उनको छेउमा रहेकी आमा चिरनवाई भने सञ्चारकर्मीसँग बोल्न चाहिनन् । उनले भनिन्, ‘हामीलाई तपाईसँग कुरा गरेर के हुन्छ । हाम्रो काम गर्न दिनु ।’ उनी निरन्तर माटो जम्मा पार्ने काममा लागि नै रहिन् ।
छोरा ऋषि भने हामीसँग कुरा गर्न तयार भए, संकलन गरेको माटो धोएर जम्मा हुने केही अंश मेसिनमा गलाएपछि मात्र सुन फेला पर्ने ऋषिले बताए । ‘सुन पाईन्छ वा पाईदैन अहिले भन्न सकिन्न । कहिले पाईन्छ पनि कहिले रित्तो हात घर फर्कनुपर्छ ।’ उनले भने, ‘८ – १० दिन यहाँ बस्छौ, केही न केही त पाईहाल्छौ ।’
सडकको अर्को किनारमा त्यसैगरि सुन खोज्नेहरुको लाम नै थियो । उनीहरु पुस्तौदेखि यही पेशामा संलग्न रहदै आएका छन् । उनीहरु नजिकैको राइस मिलमा बसेको समेत बताउँदै थिए ।
उनीहरु नेपाल आएको दुई पश्चात लकडाउन भयो । सम्पूर्ण यातायत, बजार बन्द भएपछि उनीहरु घर फर्के वा यही छन् त्यो भने टुंगो छैन । कोरोना भाइरसको सन्त्रास शायद उनीहरुमा समेत परेको होला ।