दीपेन्द्र गजुरेल अहिले युरोपको समृद्ध मुलुक स्पेनमा छन् । पर्सा वीरगञ्ज महानगरपालिका – १३ हुँदै केही बर्ष काठमाण्डौको बसाई पछि उनी स्पेन तर्फ हानिएको चार बर्ष बितिसकेको छ । त्यो भन्दा पहिले उनी नेपालमा पत्रकारिता गर्थे । अहिले स्पेनको राजधानी म्याड्रिडमा उनी एक घरमा बगैचा रेखदेखको काम गर्छन ।
चार बर्षे अवधिमा उनी स्पेनमा रहेका नेपालीको समस्या र अधिकारका लागि लड्न केन्द्रीत भए । नेपाली बीचको एकता र अधिकारमा उनले त्यहाँ बसेर कलम पनि चलाए, त्यो क्रम जारी छ । यद्धपि अब उनको कलमले लेख्ने बिषय फरक बनेको छ । कोभिड–१९ (कोरोना) ले आक्रान्त बनेको स्पेनमा यतिबेला दीपेन्द्र आम स्पेनिसको मृत्यु नजिकबाट नियालिरहेका छन् । जीवन र मरणको अन्तिम लडाई लडिरहेका मानिसको समाचार लेखिरहेका छन् ।
स्पेन मानव अधिकारको बिषयमा निक्कै संवेदशिल छ । ‘पहिला मानविय अधिकार अनि कानुनी दायरा’ यहि सिद्धान्तलाई आत्मसाथ गर्ने स्पेन सरकार मानव रक्षा मात्र होइन, जीवितहरुलाई खुशीसँग बाँच्न हौसला प्रदान गरिरएको छ । कोरोना भाइरसले आक्रान्त स्पेनमा एक नेपाली ठिटोले कस्तो अनुभव गरिरहेको छ, हामीले यसै बिषयलाई समेट्ने प्रयास गरेका छौ ।
………..
‘आजसम्ममा ३ हजार ६ सय ४७ जनाको ज्यान गइसकेको छ । ४९ हजार ५ सय १५ जना संक्रमित छन् । ३ हजार १ सय ६६ जना जीवन मरणको दोसाँधमा छन्, उनीहरु मर्न पनि सक्छन् बाँच्न पनि’ मलिन स्वरमा दीपेन्द्र यस पंक्तिकारलाई भन्दै थिए,‘केही दिन अघि मात्र हरेक दिन खुशीयासीमा रमाउने यो देश आज चिहान जस्तै भएको छ । यति बुझ्नुस् म अहिले मरे भने मेरो लाश मेरो देश लगिदैन । मेरो परिवारलाई दिइदैन ।’ उनको यो भनाई सुन्दा नै निक्कै पीडादायी छ । अझ त्यहाँका दृश्यहरु कति कारुणिक होला ।
कृषिप्रधान देश स्पेनमा केही दिनअघि खुशी मै बाँचेको थियो । फुटबल क्लबहरु बीचको खेल, सौखिन क्लब, हर्ष साट्ने रमाईला पार्क, समुद्रतटको बेग्लै बज्जा र रात्रीकालिन जीवनले हरेकलाई सधै हाँसो नै दिन्थ्यो । तर अहिले सबै घरभित्र छन् । बाहिर के कस्तो छ, झ्यालबाट कुनै कुनै बेला नियाल्छन् । कोरोनाबाट संक्रमित अस्पताल छन् । मृतकहरुलाई सुरक्षा फौजले आफ्नै नियन्त्रणमा राखेको छ । स्पेनमा संकटकाल लगाईएको छ । प्रधानमन्त्री पेद्रो सान्चेसले २२ मार्चको दिन संकटकाललाई थप १५ दिन लम्ब्याउने घोषणा गरेका छन् । यसबाट पनि त्यहाँ गहिरो संकट पर्दै गएको पुष्टि हुन्छ ।
‘यहाँको जीवन अति नै स्वतन्त्र छ । यहाँ खुशीका लागि सबै कुरा पाइन्छ ।’ दीपेन्द्रको बयान छ,‘यहाँका बासिन्दा रातभर जाग्छन् बरु अबेरसम्म सुत्छन् । तर अहिले उनीहरुमा निद्रा छैन । छ त केवल पीडा र छट्पटि ।’
स्पेनमा चहलपहल भने नभएको होइन् । कोही सरकारी आदेशको अवज्ञा गर्दै सडकमा देखिन्छन् । कोही सामान किन्ने बाहनामा हिडिरहेका हुन्छन् । प्रहरीले ड्रोन क्यामेराको माध्यमबाट निगरानी पनि गरिरहेको छ । शहरमा किटनाशक औषधी छर्ने काम पनि भए कै छ । तर उनीहरुको मनमा एक कुराको अभाव छ । त्यो हो, ‘खुसी’
त्यसैले साँझमा प्रहरीहरु साइरन बजाउँदै सडकमा आउछन् । साइरन सुन्नेहरु पुलुक्क झ्यालबाट हेर्छन । प्रहरीले गीत संगीतको माध्यमबाट वाताबरणलाई संगीतमय बनाउँछन्, केही गिटार बजाँउछन्, केही गीत गाँउछन् र सन्देश दिन चाहान्छन्, ‘खुसीले बाँचौ, निरास नबनौ ।’ एकछिन रमाएकाहरु तालीले प्रहरीलाई सम्मान ब्यक्त गर्छन ।
……..
सबैभन्दा कठिन र सुन्दै अचम्म लाग्ने कुरा स्पेनमा कुकुर पाल्छन् । तर बृद्ध आमाबुवालाई आफ्नो घरमा हैन ‘रेसिडेन्सिया’मा राख्छन् । त्यहाँको चलन त्यस्तै छ । त्यहाँ हजारौको संख्यामा नीजि क्षेत्रबाट सञ्चालित ‘रेसिडेन्सिया’ छ । जहाँ बृद्धबृद्धा मात्र होइन् र अशक्तहरु बसिरहेका छन् । जुन अहिले कोरोनाको प्रमुख समस्या बनेको छ । किनकी त्यहाँ मानिसको चाप धेरै छ ।
‘म नजिकै रहेको ‘रेसिडेन्सिया’मा करिब २० जना कोरोना संक्रमणका कारण मरे । त्यहाँ पुग्ने करिब ५ मिनेटको मात्र दुरी हो’ दीपेन्द्रले भने, ‘अझै पनि त्यहाँ गम्भीर प्रकृतिका बिरामी जीवन र मृत्यु पर्खिरहेका छन् । यस्ले त्यहाँको सरकार असहज भएको छ ।’
४ करोड ५६ लाख जनसंख्या भएको स्पेनमा त्यहाँका सेनाले अहिले त्यस्ता ‘रेसिडेन्सिया’मा आश्रय लिइरहेकाहरुको उद्धारमा जुटेको छ र प्रष्ट तथ्याङक लिन लागेको छ । उनीहरुको उद्धार र उपचार अति जरुरी छ, किनकी उनीहरु अस्पताल सम्म पुग्न पनि सकेका छैनन् । यस्तो दर्दनाक अबस्थामा सबैको आशा र भरोसाको केन्द्र मात्र त्यहाँको सरकार रहेको छ र सरकारी निर्णय मान्नु को विकल्प पनि छैन ।
अझ त्यहाँको सुरक्षाफौजको सक्रियता यस्तो छ । जसले आम नागरिकलाई केही राहत मिलेको छ । क्रिष्चियन समूदायको बाहुल्यता रहेको स्पेनमा मृत शरीरलाई गाड्ने चलन छ । तर मृतकको शव अब जमीनमा गाडिने छैनन् । शवलाई जलाउने निर्णय सुरक्षाफौजले लिएको छ ।
स्पेनमा रहेका दीपेन्द्र गजुरेलसँग गरिएको कुराकानीका आधारमा