

लुम्बिनी । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दैनिक रुपमा सार्वजनिक आब्हान गर्दै घर भित्रै बस्न जनतालाई बारम्बार आग्रह गरिरहेका छन् । उनी लकडाउनको अवज्ञा नगर्न फेरि पनि अनुरोध गर्छन । उनले यो अपिल दैनिक रुपमा सामाजिक संन्जाल, विज्ञप्ति मार्फत गर्दै आएका छन् ।
मुख्यमन्त्री पोखरेलले बुधबार आग्रह गर्दै लेखे,‘ शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा आफ्नो टोलभन्दा बाहिरको व्यक्तिलाई आउनबाट रोकौ । टोलका बासिन्दा पनि वाहिर नजाउ । खाद्यान्न र तरकारीको व्यवस्था टोल कै पसलहरुमा मिलाऔं । कोरोना भाइरसवाट जोगिन सामाजिक र व्यक्तिगत दुरीलाई निरन्तर कायम राखौं । अत्यावश्यक कामका लागि वाहिर जानु नै परेमा स्थानिय सुरक्षा निकायको अनुमति लिएर मात्र जाऔं ।’
हरेक दिन १८ घन्टा भन्दा बढी कोरोनाको जोखिम र त्यसको पुर्व तयारी बारे योजना बनाउदैं अध्ययन र अनुगमनमा हिडिरहेका पोखरेल मात्र होइन, अन्य सरोकारवाला पनि उत्ति कै चिन्तित छन् । १२ जिल्ला रहेको प्रदेशमा बर्दिया, नेपालगन्ज, दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी भारतसँग सीमा जोडिएका जिल्ला हुन ।भारतमा जनता कर्फयू लागेपछि सीमावर्ती शहर बजारमा सोको स्वभाविक प्रभाव परेपनि प्रदेशको पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, रुकुममा भन्दा तराईका जिल्लामा मान्छेहरुको बलमिच्याई र बढ्दो ओहोर दोहोर कायमै छ ।
भारतसँग खुल्ला सीमाना अर्कोतिर शहर बजारका मान्छेहरुको जिद्धिपनले संघीय सरकार, प्रदेश सरकार, स्थानिय सरकार र प्रहरी प्रशासनको अपीललाई समेत चुनौती दिईरहेको छ । तर मुख्यमन्त्री दैनिकजसो जनतालाई अपील गर्दै भन्छन्, ‘लकडाउनको अनुरोधलाई पालना गरौ । अन्यथा सुरक्षाकर्मीले आबश्यक कार्वाहीको प्रक्रिया अघि वढाउन सक्छन् ।’
अन्य प्रदेशको तुलनामा प्रदेश ५ को क्रियाशिलता उल्लेखय भएपनि केही शहरिया मान्छेहरु जिद्धिको दृष्टान्त ब्यप्त छ । बुधबार दिउँसो पनि त्यस्तै देखियो । भैरहवाको मिलनचौंकमा लकडाउनको अवेज्ञा गरेको भन्दै डयुटिमा खटिएका प्रहरीले केही साइकल चालकलाई सडकमै कुखुरा बनाए । सो बिषय सामाजिक सन्ंजालमा भाइरल भयो । लगत्तै प्रहरी अधिकारीले ड्युटिमा खटिएका प्रहरी जवानलाई कारबाहि गर्ने बताए ।
तर केहीबेर मै प्रहरी भ्यानबाट कोरोना भाईरसको संक्रमणबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाह भयो । प्रहरीको यो क्रियाकलाप दोधारे थियो । विभिन्न बहाना बनाएर लकडाउनलाई अवज्ञा गर्नु गलत भएको नागरिक अगुवा विजय सागरले बताउछन् । । रुपन्देहीका नागरिक अगुवाहरुको संस्था (विएमजी )का संस्थापक अध्यक्ष सागरले भने, ‘राज्यले बारम्बार आग्रह गरेको छ । यति गर्दा पनि अवज्ञा गर्नेलाई सडक मै सामान्य नसियत दिनु ठीक छ । यसले राम्रो सन्देश नै जान्छ ।’
शहर बजार जिद्धिमान्छेको क्रीडास्थल बन्न थालेको भन्दै नागरिक सचेतना फैलाउँदा रुष्ट हुनेलाई कारबाहीको विकल्प नभएको श्रीबहादुर रायमाझीको भनाई छ । शिक्षाशास्त्री रायमाझीले भने, ‘सकेसम्म घरमै बस्ने, तर मान्छेहरु तरकारी किन्ने, बजार गर्ने भन्दै अन्य बन्द हड्तालको समयमा झै अटेर गरी हिडेका छन्, यो गलत हो ।’
जिद्धि कै कारण समाजमा संकट आउने समाजशास्त्रका जानकार थानेश्वर पाण्डेको तर्क छ । उनी भन्छन्,‘यो अन्य बेलाको बन्द र निषेधाज्ञाको समय होइन कि प्रहरीको आँखा छल्दै हिड्ने, लुकीछुपी पसल खोल्ने । यो महासंकटको समय हो ’
कोभिड १९ लाग्यो भने आफु पनि मर्ने, परिवार पनि मार्ने, छरछिमेक पनि खतरामा पर्ने, अस्पतालमा भर्ना हँुदा आफन्तले भेट्न पनि नपाउने र अन्तिम सद्गदमा मलामी पनि जान नपाउने हुँदा पाण्डेले वर्तमान विश्वमा मानव जातिलाई चुनौती दिने कोभिडको उपचार सेल्फ क्वारेन्टाइन नै भएको बताए ।
लकडाउनलाई अवज्ञा गर्दा इटलीले ठूलो क्षति ब्यहोरेको छ । शुरुवातमा ५ जनामा देखिएको कोभिड १९ त्यहाँका नागरिकले वेवास्ता गरि हिडडुल गर्दा आज इटली तहसनहस जस्तै भएको छ । बेलायतका राजकुमारलाई समेत कोरोनाले छोएको खबर छ । छिमेकी मुलुक भारतमा जनता कर्फयू नै लगाइएको छ । कोरोनाको उद्गमस्थल चीनमा अनुशासनकै कारण भाइरस नियन्त्रणमा आएको छ । तर हाम्रो देशमा सरकारी निर्देशनको अवज्ञा गर्दै गाँउमा भन्दा शहरमा मान्छेहरु लर्को बाँधेर किनमेल र घुमघामको लागि हिड्नु गलत भएको नागरिक अगुवाहरुको तर्क छ ।
टोल स्तरमा खाद्यान्न र अत्यावश्यक बस्तु किनमेल गर्ने प्रबन्ध गरे भीड नियन्त्रणमा सहज हुने अगुवा सागरको सुझाब छ । उनले ज्याला मजदुरी गर्नेहरुको लगत संकलन गरेर खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताए । सागरले भने, ‘बिहान बेलुका हातमुख जोर्नका लागि स्थानिय सरकारले दाल चामल, तेल र नुन दिनुपर्छ । कि उनीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसुन् ।’
लकडाउनको कारण दिनभर सुनसान हुने भैरहवा बजारमा साँझमा भने मान्छेहरुको हुल देखिन्थ्यो । मान्छेहरु तरकारी बजार र किराना पसलमा भीड लागेका थिए । कयौं साँझपख बजारमा टहलिरहेका थिए । उनीहरु रमाईलो मान्दै हिडिरहेका थिए । विगतको अन्य बन्दमा साइकल, मोटरसाइकल, कार चलाउँदा बन्दको अवज्ञा गरेको भन्दै ‘हिम्मतवाला र साहसीे’ को उपाधि पाएकाहरु यतिबेला सोही शैलीमा आफ्नो रबाफ देखाउँदा प्रहरीलाई सम्झाउन असजिलो भएको छ । रुपन्देहीमा प्रहरीले सरकारी आदेशको अवज्ञा गरी सवारी चलाएको आरोपमा मोटरसाईकल एकसय १२ , स्कुटी ८ , कार एक र साइृकल सातवटा नियन्त्रणमा लिएको रुपन्देही डिएसपी खड्कबहादुर खत्रीले बताए । उनले भने,‘मान्छेहरुको जिद्धिपन देख्दा अनौठो लाग्छ । चौतर्फी प्रचार गर्दा पनि मान्छेहरु अटेर गरेका छन् ।’
राससको सहयोगमा