

विराटनगर । सरकारले कोरोना भाइरसको संक्रमण र रोकथामका लागि मुलुकभर लकडाउन गरेपछि त्यसको प्रत्यक्ष असर भने गरिब तथा बिपन्न वर्गलाई परेको छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेलाई दैनिकी टार्न असहज भएपछि मोरङ बेलबारी नगरपालिकाको एक नीजि संस्थाले मंगलबार १० परिवारलाई महिना दिनसम्म पुग्ने रासन लगायतको साम्रागी वितरण गरेको छ ।
बाढीका कारण सुकम्बासी बन्न पुगेका मोरङ बेलबारीका मुसहर (ऋषिदेव) र अन्य परिवारलाई बेलबारीको सयपत्री मल्टीप्रपोज कम्पनीले रासन लगायतको सामाग्री वितरण गरेको हो । ‘हुनेले त महिना भरका लागि जोहो गरेर राखेका होलान् तर नहुने परिवारले कसरी पेट भर्ने’ मल्टीप्रपोजका प्रबन्ध निर्देशक माधवराज थापाले भने,‘बिपन्न बर्गलाई केही राहत होस् भनेर यो अभियान शुरु गरेको हो । करिब सय परिवारलाई सहयोग गर्ने चाहना छ ।’
सो कम्पनीले खाद्यान्नको अभाव र संकट नहोस् भन्दैे बेलबारी नगरपालिका –१ का सात घर मुसहर (ऋषिदेव), एक घर धाँमी, एक घर थापा र एक घर धिमाल परिवारलाई रासन सामाग्री वितरण गरेको हो । उनीहरूलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ पोका नुन, २ केजी चिउरा, २ केजी भुजा, १ थान साबुन, ५० थान माक्स र ५० थान ग्लोभ्स उपलब्ध गराएको कम्पनीका प्रबन्ध निर्देशक थापाले बताए ।