विराटनगर । सरकार कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणको प्रयासमा जुटिरहेको बेला प्रदेश १ सरकारले यस्को रोकथाम र नियन्त्रणका लागि छुट्टै प्रदेशस्तरको कोष स्थापना गरेको छ ।
मंगलबार प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । प्रदेश नं १ कोरोना जनसुरक्षा कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक धु्रव सुवेदीले जानकारी दिएका छन् । सो कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।
यसैगरि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको सचिवालयमा कार्यरत कर्मचारीले आधा महिनाको तलब नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । एक बिज्ञप्ति जारी गर्दै सो रकम कोषमा नेपाल सरकारको कोषमा जम्मा हुने बताइएको छ ।