विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला दुई अघि पनि राजनीतिक कार्यक्रममा ब्यस्त थिए । तर पछिल्लो समय कोरोना भाइरसको संक्रमणको हल्लाले आफ्नो राजनीतिक कार्यक्रमलाई शुन्य मै झारेका डा. शेखर आइतबार भने माक्स बाँड्दै टोल टोल पसे । कोरोना भाइरसको संक्रमण र जोखिमलाई कम गर्न उनी चेतनामूलक पर्चा बोक्दै नगर र गाँउका बिभिन्न बस्तीमा पुगेका हुन ।
उनले विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा तीन हजार ९ सय थान मास्क वितरण गरेका थिए । केन्द्रीय सदस्य कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका हुन । टोलगत रुपमा प्रतिनिधिमार्फत मास्क वितरण गर्ने प्रबन्ध मिलाइए पनि उनले केही टोलहरुमा भने स्थानीयलाई आफैं गएर मास्क वितरण गरेका थिए ।
कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले जनाए । उनले भने,‘‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय छापिएको पर्चा लिएर टोल पुगेको हुँ ।’’ कोइरालाले यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्ने सुझाव दिए ।
नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जनचेतनाका लागि सानो प्रयास गरिएको बताए । वडाका उत्तरबखरी, दक्षिण बखरी, पान्चाली, रोडशेष चौक, मझुवा, दरेहैया,दरेहैया आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसंगै दुई दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिएका छन् । मास्क वितरणलाई निरन्तरता दिइएने गोल्छाले बताएका छन् ।