सम्पन्न बस्तीमा मुख्यमन्त्री, सबै ब्याज प्रदेश सरकारले तिर्ने

Logo
विराटपथ आइतबार, पुष १५, २०८०

विराटनगर । सम्पन्न बस्ती निर्माणमा सर्वसाधारणले लिएको सबै ऋणको ब्याज कोसी प्रदेश सरकारले तिर्ने भएको छ। विराटनगर महानगरपालिका वडन नम्बर १२ मा निर्माण गरिएको सम्पन्न बस्ती कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको निर्वाचन क्षेत्रमा पर्छ।
प्रदेश सरकार, जीवन विकास समाज, विराटनगर महानगपालिका, ह्याविटेट नेपाललगायत संस्थाको सहयोगमा एकीकृत बस्ती निर्माणको काम शुरु भएको थियो। त्यहाँ एकसय ४६ घरमध्ये धेरै सम्पन्न भई सिमान्तकृत ऋषिदेव समुदाय घरमा बस्न थालिसकेका छन्।
आइतबार सम्पन्न बस्ती पुगेका मुख्यमन्त्री केदार कार्कीलाई सिमान्तकृत ऋषिदेव समुदायले ब्याज मिनाहाबारे जिज्ञासा राखेका थिए।
“मुख्यमन्त्री ज्यू के हामीले जमिन खरिद गर्दा लिएको ऋणको ब्याज साँच्चै मिनाहा भएको हो ?,” दानीदेवी ऋषिदेव (मुसहर) ले मुख्यमन्त्री कार्कीलाई प्रश्न गरिन्।
दानीदेवीको जिज्ञासा पूरा हुन नपाउँदै उनकी छिमेकी रेखा ऋषिदेवले जिज्ञासा राखिन्, “अनि यो ब्याज मिनाहा गराउन प्रदेश सरकारले के के व्यवस्था गरिदिएको छ त ?”
बस्तीमा बस्ने धेरै महिलाले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की समक्ष सरकारले घोषणा गरेको ब्याज मिनाहा कार्यक्रमबारे जिज्ञासा राखेका थिए। उनीहरुले आफ्नो समुदायले भोग्नु परेको आर्थिक तथा समाजिक समस्या पनि बताएका थिए।
“हो तपाइँहरुले जमिन खरिद गर्दा लिएको सबै ऋणको ब्याज प्रदेश सरकारले मिनाहा गरिदिएको छ, त्यो ब्याज वापतको रकम सरकारले नै तिरिदिने हो अब ढुक्क हुनुहोस,” मुख्यमन्त्री कार्कीले भने,“बजेटमै घर बनाउन जग्गा नहुनेले खरिद गर्दा ऋणको ब्याज मिनाहा गरिदिने व्यवस्था गरिदिएका छौं ।” कार्कीले अब किस्ता बुझाउँदा ब्याज तिर्नु नपर्ने गरीको तयारी सरकारले गरेको स्थानीयलाई जानकारी गराएका थिए।
कार्कीको जवाफ सुनेर बस्तीका महिलाले मुख्यमन्त्री र प्रदेश सरकारको सम्मानमा ताली बजाए । जग्गा खरिद गर्न लिएको ऋणको ब्याज सरकारले तिरिदिने खबर सुनेपछि ऋषिदेव समुदायका महिला खुसी देखिए । चोमनीले भनिन्,“हाम्रो घर बनाउन पहिले पनि प्रदेश सरकारले सहयोग गरेको थियो । अब ब्याज तिर्नु नपरे हामी सजिलैसँग साँवा बुझाउन सक्छौं ।”
कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका बेला बस्ती निर्माणको पहल शुरु भएको थियो। बस्ती ३ बिघा १६ कट्ठा ५ धुरमा फैलिएको छ। प्रति परिवारका लागि १० धुर जग्गा, भान्सा, ट्वाइलेट, बाथरुमसहित बनेका तीन कोठे घर उनीहरुकै स्वामित्वमा रहने र जग्गाको किस्ता उनीहरुले बैंकलाई ब्याजसहित मासिक ७ हजार रुपैयाँ नियमित बुझाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]