पेचिलो बन्दै काँग्रेसी राजनीति
विराटनगर । धनकुटाको मैनाबुदुकमा पौष २० गते गिरिजाप्रसाद कोइराला फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला प्रमुख अतिथि र केन्द्रीय सदस्य डा.शेखर कोइराला बिशिष्ठ अतिथि थिए । दुबै अतिथिलाई फाउण्डेसनका प्रदेश १ का संयोजक इन्दिरा थापाले एउटै माला लगाई दिएको थिइन् । आन्तरिक कलह र गुटमा अल्झिएको काँग्रेसमा एकताको सन्देश दिन, थापाले लगाई दिएको माला सांकेतिक सन्देश थियो ।
उक्त कार्यक्रममा दुबै नेता पार्टी नेतृत्व बिरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए । दुबै नेताले पार्टी सभापति शेरबहादुर देउवाको खरो आलोचना गरेका थिए । नेता सिटौलाले भनेका थिए,‘म शेरबहादुरजीलाई धनकुटाको डाँडाबाट सम्झाउन चाहान्छु । लोकतान्त्रिक पार्टीभित्र विवाद हुन्छ । विवाद कहिले थिएन, तर शेरबहादुरजी त्यो विवाद सुल्झाउने ताकत राख्नुस् ।’ अर्का नेता कोइराला पनि पार्टी नेतृत्वले संस्कार र नैतिकताको धरातल गुमाएको भन्दै पार्टीको उचाई कम हुँदै गएको बताएका थिए । दुबैको प्रहार पार्टी सभापति देउवामा केन्द्रीत थियो ।
…………
कांगेस केन्द्रीय सदस्य डा.शेखरले पौष २९ गते कोइराला निवास विराटनगरमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग छलफल गरे । प्रदेश १ को विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसँग समसामयिक राजनीतिक विषयमा छलफल गरे ।
छलफल मुलत काँग्रेसभित्रका आन्तरिक राजनीति र भावी नेतृत्वप्रति केन्द्रीय थियो । सो कार्यक्रममा डा. शेखरको भनाई थियो, ‘हामी विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको छ । योसँग जुध्नको लागि पनि पार्टी एक ढिक्का हुन जरुरी छ ।’
केही दिन यता विराटनगरमा रहेर बिभिन्न कार्यक्रममा सक्रिय केन्द्रीय सदस्य डा. शेखर कोइराला भावी पार्टी सभापतिका दावेदार हुन । दिनहुँ जसो बिभिन्न कार्यक्रममा सक्रिय उनी कहिले न्यानो कपडा बाडिरहेका हुन्छन् त कहिले कार्यकर्ता भेटघाटमा सक्रिय देखिन्छन् ।
उनको सक्रियता बारे, नेपाली काँग्रेस विराटनगर नगर सभापति तथा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग हामीले जिज्ञासा राख्यौ । के उनको दौडधुप भावी नेतृत्वका लागि नै हो ? पराजुलीले भने,‘नेताले कार्यकर्तासम्म पुग्दा कार्यकर्ता,पार्टी र नेतालाई नै फाइदा पुग्ने हो । शायद वहाँको क्रियाशिलताले पनि त्यहि कुराको संकेत गर्छ । र स्वाभाविक वहाँ पार्टी सभापतिको दावेदार नै हो ।’
विराटनगरबाट सञ्चालन हुने मकालु टेलिभिजनको एक कार्यक्रममा अन्तरबार्ता दिने क्रममा एक साता अघि डा.शेखरले पार्टी सभापति देउवाले एउटा गुट मात्र चलाएको आरोप लगाएका थिए । उनले देउवा समग्र पार्टीको सभापति भएको चर्चा गर्दै त्यो भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । चार बर्षसम्म पार्टीको हितमा नेतृत्व पंक्ति नलागेको उनको भनाई थियो ।
……………
पूर्व बसेर डा.शेखर पार्टी नेतृत्व र खासगरि पार्टी सभापति बिरुद्ध खरो रुपमा उत्रिएका छन् । उनको क्रियाशिलता सभापति देउवाबिरुद्ध मात्र केन्द्रीत छैन्, पार्टी नेतृत्वमा आफ्नो पकड बलियो बनाउन पनि लक्षित छ । जसका लागि उनी कहिले पहाड पुग्नछन् त कहिले तराईमा न्यानो कपडा बाँड्छन् । कहिले सिटौलासँगै एउटै मञ्चमा हुन्छन् त कहिले जनप्रतिनिधिलाई भेला गराउँछन् ।
पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको अवसनपछि कोइराला परिवार कहिल्यै एक हुन सकेन । कोइराला परिवारबाट महामन्त्री डां शंशाक कोइराला, केन्द्रीय सदस्य सुजता कोइराला र डा. शेखर दोश्रो पुस्ताको रुपा उदाएका नेताहरु हुन । उनीहरु बिचमा यति सम्मको तिक्तता थियो कि, एकले अर्काको जहिल्यै आलोचना गर्थे । अझ कुनै बेला डा.शेखर र सुजताको बोलचाल समेत थिएन । तर अहिले अबस्था ठिक उल्टो छ । कोइराला परिवारबीचमा पहिलेको त्यो अबस्था छैन । देउवाको कार्यकाल सकिन लाग्दा खुलेर बिरोधमा उत्रिएका महामन्त्री शंशाक मात्र होइन्, गिरिजापुत्री सुजता र भतिज डा.शेखर खरो रुपमा देउवाबिरुद्धमा लागेका छन् । उनीहरुको अहिले भूमिका देउवालाई गलाउने, उनको कार्यकाय असफल रहेको सन्देश दिने, कार्यकर्तालाई उत्साहित पार्ने र नेतृत्वलाई आफ्नो हातमा लिने नै देखिन्छ ।
कोइराला परिवारसँग लामो समय निकट रहेका विराटनगरका एक नेता यसपटक देउवाइतरका नेताहरु एकमा रहेर अघि बढ्ने बताउँछन् । यस पटक महाधिवेशनको भिडन्त देउवा समूह र कोइराला परिवारबीचमा नै रहने उनको भनाई छ । रुपान्तरणसँग उनले भने,‘ढुक्क हुनुहोस् यो पटक पार्टी सभापतिको उम्मेदवार कोइराला परिवारबाटै हुनेछ । देउवाइतरका सबै एकै ठाँउमा मिलेर आउछन् । तर शंशाक र शेखर मध्ये एक सभापतिमा लड्छन् ।’
कोइराला परिवारका सदस्य एकआपसमा मिलेपनि बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायत दोश्रो तहका नेताहरुको भूमिका भने अहिलेपनि स्पष्ट छैन । उनीहरु कसरी मिलेर जान्छन् त्या अझै अन्यौल नै छ ।