

विराटनगर । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणमा आउने भएका छन्। इजरायलमा हमासको आक्रमणपछि उनको नेपाल भम्रण स्थगित गरिएको थियो।
गत कार्तिक २ गते बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो। उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
प्रधानमन्त्री कार्यालयले संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराएको छ। साथै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन समेत प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।